नेपालीहरूको महान् पर्व बडादसैँको रौनकले मुलुकभर पारिवारिक खुसी र भेटघाटको वातावरण छाइरहँदा राजधानीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने अर्कै दृश्य देखिन्छ। एकातिर आफन्त र मान्यजनबाट टीका तथा जमरा थाप्ने चटारो छ भने अर्कातिर आफ्नो र परिवारको उज्ज्वल भविष्यका लागि आँसु थाम्दै विदेसिने युवाहरूको उही परिचित ताँती छ।
चाडबाडमा पनि आफ्नो भविष्य निर्माण र आर्थिक अवस्था सुधार्ने बाध्यता बोकेर दैनिक सयौँको सङ्ख्यामा नेपाली युवायुवतीहरू वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि विदेश प्रस्थान गरिरहेका छन्।








