काठमाडाैं,१४ जेठ

भारतका विपक्षी दलले समारोह बहिष्कार गरे पनि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद भवनको उद्घाटन गरेका छन् ।

नयाँ संसद भवनको उदघाटन राष्ट्रपतिले गर्नु पर्ने बिपक्षीको आग्रहलाई अस्विकार गर्दै प्रधानमन्त्री मोदीले आइतबार बिहान उदघाटन गरेका हुन ।

नयाँ संसद् भवनको उद्घाटन गर्दै भारतीय प्रधानमन्त्री मोदीले लोकसभा कक्षमा सभामुखको आसनपछाडि ‘सेंगोल’ स्थापना गरे सेंगोललाई स्वतन्त्रताको महत्त्वपूर्ण ऐतिहासिक प्रतीक मानिन्छ । यसलाई बेलायतीबाट भारतीयलाई शक्ति हस्तान्तरण गरेको संकेत समेत मानिन्छ ।

स्थानीय समयानुसार बिहान साढे ७ बजे नयाँ संसद् भवन पुगेका मोदीले पूजा र सेंगोल स्थापना गरी निर्माणमा संलग्न मजदुरलाई अभिनन्दन गरेका थिए । यस्तै मोदीले भारतको स्वतन्त्रताको ७५ वर्ष पछि सो संघर्षमा ज्यान गुमाएका प्रति श्रद्धांजलि ब्यक्त गरेका छन् भने ७५ रुपैयाँको नयाँ सिक्का पनि सार्वजनिक गरेका छन् ।

गत बुधबार प्रमुख प्रतिपक्षी कांग्रेस सहित १९ दलले उद्घाटन समारोह बहिष्कार गर्ने सामुहिक निर्णयको घोषणा गरेका थिए । उनीहरुले नयाँ संसद भवन राष्ट्रपतिवाट उदघाटन गराउनु पर्ने माग राखेका थिए । तर, बिपक्षीको माग सम्बोधन नगरी प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ संसद भवनको उदघाटन गरेका हुन ।