काठमाडाैं,१७ जेठ
नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले अर्थमन्त्री डा प्रकाशशरण महतलाई पदका बाजी नराख्न सुझाव दिएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज सेजनले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री डा. खतिवडाले यस्तो सुझाव दिएका हुन्। उनले भने,‘करका दर हरेक आर्थिक अध्यादेशमा हेरफेर हुन्छ । त्यो दुई प्रकारको आवश्यकताले हुन्छ । एउटा प्रणालीको आवश्यकताले,अर्को व्यवसायीको आवश्यकताले । त्यसकारण भोलि प्रश्न उठ्यो भने जवाफदेही त अर्थमन्त्री हुनैपर्छ,पदको बाजी नै नराखेको भए हुने, पद रहे पनि नरहे पनि यस्ता प्रश्न त उठिरहेका हुन्छन् । मेरो त नामै करप्रसाद राखेका थिए ।’।’
अर्थमन्त्री डा.महतले मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा करका दर कसैको दबाबमा हेरफेर गरेको प्रमाणित भए पदमा नबस्ने भन्दै प्रमाणित गर्न चुनौती दिएका थिए । त्यसको जवाफमा डा.खतिवडाले पदको बाजी नराख्न सुझाव दिएका हुन् ।
यस्तै उक्त कार्यक्रममा बाेल्दै अर्थमन्त्री मात्र इमानदार भएर नहुने भन्दै खतिवडाले कर्मचारीतन्त्र पनि इमानदार भए मात्र बजेट कार्यन्वयन हुने बताए।