३० जेठ, काठमाडाैं
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी सुन अपुग नरहेको दावी गरेको छ।
मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य-सचिव डा. मिलनकुमार थापाले सो स्पष्टीकरण दिएका हुन्। उनले सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको समेत बताए।
उनले भने– ‘१० केजी सुन पुगेन भने म मृत्युदण्ड लिन पनि तयार छु, आज मेरो गाँउभरि बेईज्जत भयो, मेरा दुई जना सन्तान छन्।अब मैले सुन चोरको रुपमा आएको छु । म कमजोर होईन, तर राज्यले मलाई कमजोर बनाएको छ । आयोगले छानबिन गर्न नसक्ने, पटक पटक मुद्दा चलाउने भनिएको छ । मुद्दा चलाउ पुगेन भने फाँसी दिए पनि हुन्छ तर हाम्रा पत्रकार साथीहरुले सत्य नबोलिकन सुन चोर भनेर समाचार निकाल्नु हुन्छ । मेरो बच्चाहरुको भविष्य अन्धकार बनाउने, राज्यको यहि नीति हो ? त्यसो भए त कुनै पनि राजनीतिक दलले नियुक्ति गर्नु भएन पशुपति विकास कोष नै राख्नु भएन ।
’सुनको जलहरीको न्याय माग्न के मैले पनि आत्महत्या गर्नुपर्ने हो ? म यो सुनको जलहरीको समितिको संयोजक हो, यसमा नेपाल राष्ट्र बैंकले गरेको सम्झौता अनुसार हामीले सुन ल्याएका छाैँ । १०३ केजी सुन आएको छ । हामी राज्यको निकायबाट मनोनित भएपछि हामी कर्मचारी हो, राज्यले जे निर्देशन दिन्छ, त्यही गर्नु हामीले गल्ती गरेका हौं र ?’ उनले प्रश्न उठाएका छन्।