३२ जेठ, काठमाडाैं
तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र युवती मृत फेला परेको घटनामा प्रहरीले निज युवतीका श्रीमान्लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४ मा डेरा गरी बस्ने २१ वर्षीय मनोज विष्ट रहेका छन् ।
प्रहरीले विष्टलाई मङ्गलबार राति व्यास–३ स्थित तरकारी लाइनबाट पक्राउ गरेको हो । मृतक व्यास–१२ लामीडाँडा माइती भएकी निजकै श्रीमती रङ्गिला भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए।
श्रीमान् श्रीमतीको विवाद भएपछि मनोजले रंगिलाको टाउकोमा हानेका थिए । हत्या गरेपछि कोठाभन्दा करिब ५ सय टाढा नालामा भित्र शव फालेको उनले प्रहरीलाई बयान दिएका छन् । मंगलबार बिहान करिब १० बजे शव भेटिएको हो ।
उनीहरूको गत बैशाखमा बिहे भएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ । मनोजलाई कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान थालिएको हो ।