५ असार,काठमाडाैं

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले  उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय दिन र पीडक नेविसंघका विद्यार्थीहरूलाई दण्डित गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयका समाजशाष्त्रका उपप्राध्यापक चलाउनेलाई विश्वविद्यालय परिसरमै मरणासन्न हुने गरी कुटपिट गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गर्नुको सट्टा उनीहरूमाथि लगाइएको मुद्दासमेत फिर्ता लिने काम गरेर सरकारले अन्याय गरेको भन्दै आक्रोश व्यक्त गरे।

प्रमुख सचेतक परियारले भने, ‘गुन्डागर्दीको शैलीमा दिनदहाडै त्यसरी कुटपिट गरेर मरणासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो ? न्याय चाहिन्छ। न्यायलाई मर्न नदिऊँ। न्याय पनि मर्‍यो भने हाम्रो आशा रहँदैन। विश्वविद्यालयजस्तो क्षेत्रमा त्यसरी गुन्डागर्दी शैलीमा मरणासन्न हुनेगरी कुट्नेहरूलाई नछोडौँ। म सम्माननीय सभामुखमार्फत नेपाल सरकारको गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु । कृपया, यो गल्तीलाई सच्याउनुस्। पीडितलाई न्याय दिनुस्।’