६ असार,काठमाडाैं
नेकपा एमालेकी सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरूलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेकी छन्।
बुधबार प्रतिनिधि सभाको दोस्रो बैठकको शून्य समयमा बोल्दै उनले रोपाइँ सुरु हुँदा पनि मलको व्यवस्था गर्नुपर्छ भन्ने कुरामा ध्यान दिन नसकेको भन्दै सरकारको आलोचना समेत गरिन् । यस्तै उनले युवाहरू रोजगारीका लागि विदेसिने क्रम बढ्दा पनि सरकारले उनीहरूलाई स्वदेशमै रोजगारीको अवसर दिने कुरामा कुनै सोचाई नराखेको भन्दै आक्रोश व्यक्त गरिन्।
‘नयाँ शैक्षिक सत्र सुरु भयो । विद्यार्थीलाई पुस्तक छैन । किसानको रोपाई सुरु भयो । मल छैन । महँगीले ढाड सेक्यो, नागरिकलाई बाँच्ने आधार छैन । हत्या, हिंसाले त्रास बढाएको छ । न्याय पाउने आस छैन । रोजगारीका लागि विदेश जानुपर्ने राज्यले नसोच्ने । सरकार कहाँ छ ? सभामुख महोदय । यसमा ध्यान दिन म सरकारसँग माग गर्दछु ,’उनले भनिन् ।