काठमाडाैं,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान रोप्ने सिजनमा यो वर्ष पहिलेको जस्तो मल अभाव नहुँने बताएका छन्।
आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिंदै उनले रासायनिक मलको व्यवस्था विगतभन्दा सुदृढ भएको बताए।
‘रासायनिक मलको व्यवस्था विगतभन्दा सुदृढ भएको छ। ०७९ साउनदेखि हालसम्म तीन लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको छ। त्यो मध्ये ७१ हजार मे ट विभिन्न डिपोमा मौज्दात रहेको छ। कोलकत्ताबाट ४५ हजार डिएपी यो महिनाभित्र नेपाल भित्रिन्छ। धान रोप्ने सिजनमा विगतजस्तो मल अभाव हुने अवस्था यो वर्ष छैन,’ उनले भने।
प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको लागि १५ अरब विनियोजन भए पनि थप २३ अरबको स्रोत सुनिश्चित गरी मल आपूर्तिलाई सुद्दढ गरिएको बताए।








