१२ असार, काठमाडाैं । कृषि मन्त्री बेदुराम भुसालले यो वर्षको धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव नहुने बताएका छन्।

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री भुसालले यस वर्ष धानका लागि आवश्यक पर्ने रासायनिक मल अभाव नहुने दाबी गरेका हुन्। यस्तै उनले हाल देशभरका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरुमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेको जानकारी दिए ।

मन्त्री भुसालले असार महिनाको अन्त्य सम्ममा थप ४५ हजार मेट्रिक टन र श्रावण महिनाभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने पनि बताए ।उनले आगामी आर्थिक वर्षको लागि रासायनिक मल खरिदका लागि ३० अर्ब रुपैयाँ रकम सुनिश्चित गरिएको बताए।

मन्त्री भुसालले भने, ‘चालु आर्थिक वर्षको लक्ष्य अनुसार कुल ४ लाख ७८ हजार ५०० मेट्रिक टन रासायनिक मल खरिदको सम्पूर्ण प्रक्रिया समयमै सम्पन्न गरिएको छ । त्यसमध्ये ३ लाख ५१ हजार मेट्रिक टन आयात भई बिक्री, वितरण भइरहेको छ । र हाल ७८ हजार ४२२ मेट्रिक टन मल देशभरका कृषि सामग्री कम्पनीका ४१ र साल्ट ट्रेडिङ कर्पोरेशनका २४ डिपोहरुमा मल मौज्दात रहेको छ । असार महिनाको अन्त्य सम्ममा थप ४५ हजार मेट्रिक टन र श्रावण महिनाभित्र थप ७५ हजार मेट्रिक टन रासायनिक मल प्राप्त हुने अवस्थामा रहेको छ । यस वर्षको धानलाई रासायनिक मलको अभाव नहुने ब्यहोरा यस सदनमा राख्न चाहन्छु ।’

मन्त्री भुसालले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारले सम्भव भएसम्मका कामहरु अगाडि बढाएको बताए ।