काठमाडाैं, १९ असार

काठमाडौं । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पुरस्कार दिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत वडाले दुईभन्दा बढी सन्तान जन्माउनेलाई प्रोत्साहन भत्तास्वरुप पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको हो ।

पछिल्लाे समयका ग्रामीण क्षेत्रमा जनसङ्ख्या घट्दै गएकाले जनसङ्ख्या वृद्धि गर्न प्रोत्साहन स्वरुप भत्ता दिन लागेको वडाअध्यक्ष चिरन्जीवि पोखरेलले बताउनुभयो । पोखरेलका अनुसार तीन सन्तान जन्माएर जन्मदर्ता गराउन आउने आमाबुवाले वडाबाट पाँच हजार रुपैयाँ पाउनेछन् । वडा कार्यालयले गरेको उक्त निर्णय साउन महिनादेखि लागू हुनेछ ।

गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एकआपसमा समायोजना हुनुपर्ने अवस्था आएको भन्दै वडाले दुई भन्दा धेरै सन्तान जन्माउनेलाई ५ हजार रुपैयाँ दिने कार्यक्रम ल्याएको हो ।

उक्त कार्यक्रमका लागि आगामी आर्थिक वर्ष २०८० ८१ मा १२ जनाको लागि ६० हजार रुपैयाँ बजेट विनियोजन गरिएको वडा अध्यक्ष पोखरेलले बताए ।