काठमाडाैं,२४ असार
विवादित भारतीय फिल्म आदिपुरुषका संवाद लेखक मनोज मुन्तसिरले हिन्दु धर्मावलम्बीहरूलाई चोट पुगेको भन्दै माफी मागेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आदिपुरुष फिल्मबाट जनभावनामा चोट पुगेको म स्वीकार गर्दछु, मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निःशर्त माफी चाहन्छु, भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटूट रहन र हाम्रो पवित्र शाश्वत र महान देशको सेवा गर्ने शक्ति प्रदान गरुन।’
फिल्म आदिपुरुष प्रदर्शनमा आएलगत्तै यसमा राखिएका दृश्य तथा संवादलाई लिएर नेपाल तथा भारतभर चर्को विरोध भएको थियो। फिल्ममा समावेश धेरैजसो दृश्यले रामायणको उपेक्षा गरेको त्यसका पात्रहरूलाई गलत ढंगले अर्थ्याइएको थियो।
नेपालकी छोरी सीतालाई भारतमा जन्मिएको भन्ने संवाद राखिएको भन्दै काठमाडौँलगायत देशका केही मेयरले फिल्ममाथि प्रतिबन्ध लगाएका थिए।