काठमाडाैं, २५ असार
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितलाई न्याय दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आइतबार नयाँ बानेश्वरस्थित मिटरब्याज पीडित धर्नास्थलमा पुगेर गृहमन्त्री श्रेष्ठले अध्यादेश निष्क्रिय भए पनि आयोगमार्फत मिटरब्याज पीडितहरूलाई न्याय दिने काम नरोकिने बताएका हुन्।
मिटरब्याज पीडितहरूले सरकारले मिटरब्याजीलाई कारबाही गर्नका लागि ल्याएको अध्यादेश निष्क्रिय भएपछि काठमाडौँमा आएर धर्ना शुरू गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको विवादित अभिव्यक्तिलाई लिएर प्रतिपक्षीले सदन अवरुद्ध पारेपछि अध्यादेश संसदमा टेबुल हुन नपाएर निष्क्रिय भएको थियो। त्यसलगत्तै मिटर ब्याज पीडित राज्य आफ्ना मागमा गम्भीर नभएको आरोप लगाउँदै धर्ना शुरू गरेका हुन्।
उनका अनुसार आयोगमा करिब २५ हजार उजुरी परेका छन् । ती उजुरीमाथि छानबिनको प्रक्रिया अघि बढेको छ । अहिले करिब एक हजार पाँच सय उजुरीमाथि छानबिन भएर पीडितको पक्षमा फैसला भइसकेको छ । कतिपय मिटर ब्याजीले कब्जा गरेको घर, जमिन पीडितलाई फिर्ता गरिसकेका छन् ।
यो उपलब्धिलाई अब नेपालको कुनै पनि तागतले रोक्न नसक्ने भन्दै उपप्रधानमन्त्री श्रेष्ठले पीडितलाई न्याय दिलाएरै छाडिने दोहोर्याए। मिटरब्याजी सामन्ती शोषणको निकृष्ट अवसेस हो भन्दै उनले यसलाई जरैदेखि निमिट्यान्न पार्न सरकार प्रयासरत रहेको उल्लेख गरे।
श्रेष्ठले भने, ‘अध्यादेशको अवधि सकिएको कारणले अध्यादेश निष्क्रिय भएको छ। त्यसैले चिन्तित हुनुभएको होला। तपाईंहरूलाई भन्न चाहन्छु। विधेयक संसद्मा छ‚ अस्वीकार भएको होइन। न्यायिक आन्दोलन पूरा नगरी छोडिनेछैन। तपाईंहरू ढुक्क हुनुस्। मिटरब्याजपीडितलाई न्याय दिलाएर छाडिनेछ।’
उनले मिटरब्याजीले पीडितहरूसँग बढी लिएको पैसा फिर्ता गर्नुपर्ने र घरजग्गा पनि फर्काउनुपर्ने बताए। उनले ५ लाख ऋण दिएर ५० लाखको तमसुक बनाउने, दिएकोभन्दा दोब्बरतेब्बर पैसा पनि लिने, घरजग्गा पनि रजिस्ट्रेशन पास गरेर लिने जस्ता अपराधलाई राज्यले छुट दिन नसक्ने बताए।