काठमाडाैं, १ साउन

रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउन सदरमुकाम गौरमा सोमबार विरोध प्रदर्शन गरिएको छ।

हत्याकाण्ड भएको १७ वर्ष  बितिसक्दासमेत कारबाहीको प्रारम्भिक चरणको समेत काम हुन नसकेको भन्दै समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै संघर्षका कार्यक्रमबारे पनि जानकारी दिएको छ ।

२०६३ चैत्र ७ गते तत्कालीन पार्टी मधेशी जनअधिकार फोरमका कार्यकर्ताहरूले २८ जना निर्दोष माओवादी कार्यकर्ताको निर्मम हत्या गरेका थिए ।  सो घटनापछि २८ चैत २०६४ मा रौतहट जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको सोमबार १७ वर्ष वितिसक्दा पनि कारबाही प्रक्रिया नथालेको भन्दै समितिले आन्दोलित भएको हो ।

उक्त हत्याकाण्डका पीडि़तहरूले जाहेरी दर्ता गराएको डेढ दशक भन्दा बढी हुन लाग्दा समेत प्रहरी प्रशासनले राजनीतिक शक्तिको आडमा मुद्दालाई ओझेलमा पारेको भन्दै पीडितहरुले प्रदर्शन गरेका हुन्।

ज्ञापनपत्रमा साउन २ गतेदेखि १२ गतेसम्म जिल्लाका  विभिन्न पालिकाहरुमा गौर हत्याकाण्डको बारेमा जानकारी एवम् अन्तर्क्रिया कार्यक्रम गर्ने, १३ गते शहिद परिवार एवम् पिडीतहरुद्वारा धर्ना, १४ गते मोटरसाइकल र्‍याली र १५ गतेदेखि अनिश्चितकालीन रौतहट बन्द गर्ने चेतावनी समेत संघर्ष समितिले दिएको छ ।