काठमाडाैं, ४ साउन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट करिब १ अर्ब रुपैयाँबराबरको तस्करीको सुन जाँचपास गराउने कर्मचारीलाई विभागले निलम्बन गर्ने तयारी गरेको छ। सो सुनको भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेको विभाग स्रोत बताउँछ।
यसैगरी विभागले यो सुन तस्करी प्रकरणका विषयमा छानबिन गर्न समिति बनाउने भएको छ। विभागमा भर्खरै सम्पन्न छलफलबाट छानबिन समिति गठन गर्ने निर्णय भएको हो। जाँचपासमा संलग्नबाहेक अन्य कर्मचारीको पनि यो प्रकरणमा संलग्नताका विषयमा पनि छानबिन हुने स्रोत बताउँछ।
राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले भन्सार जाँचपास भएर सिनामंगलको सडकमा निकालिसकिएको अवस्थामा उक्त सुन बरामद गरेको थियो। यो प्रकरणमा संलग्न एक भारतीयसहित ६ जनालाई विभागले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।