काठमाडाैं,
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आजबाट सर्वाेच्चमा निरन्तर सुनुवाइ हुँदैछ । गठबन्धन दलले असंवैधानिक तवरले प्रदेश सरकार गठन गरेको भन्दै नेकपा (एमाले) सर्वोच्चमा रिट हालेका थिए।
एमाले कोसी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेश सभामुख बाबुराम गौतमलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।
रिट उपर गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले सरकार गठन गर्दाको दाबी, दलका तर्फबाट पेस भएको हस्ताक्षरसहितका सक्कल कागजात मगाउन आदेश दिएको थियो । मुख्यमन्त्री थापा, प्रदेश प्रमुख खापुङ र सभामुख गौतमसँग लिखित जवाफसमेत माग भएको थियो ।
सर्वाेच्चकाे अादेशपछि मुख्यमन्त्री थापा , प्रदेश प्रमुख खापुङ र सभामुख गाैतमले साउन ४ गतेभित्रै आफ्नो जवाफ पेश गरिसकेपछि आज देखी कोशी सरकारको बैधानिकतामा बहस सुरु हुन लागेको हो ।
सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरे पछि एमालेले त्यसबिरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियाे । निष्पक्ष रहनु पर्ने सभामुख गौतमसहितको हस्ताक्षरमा गरेको सरकार असंबैधानिक भन्दै खारेजीको माग एमालेकाे राखेकाे छ । जसमा आजवाट दुवै पक्षले आ आफनो तर्फवाट बहस गर्नेछन् ।








