काठमाडाैं, ७ साउन

आफ्नै अभिव्यक्ति र गतिविधिका कारण पटक–पटक विवादमा तानिँदै आएका धरान नगर प्रमुख हर्कराज साम्पाङ थप विवादमा फसेका छन्।

मन्दिर नजिकै चर्च बनाएको विवाद नसल्टिदैँ निजी जग्गामा जबरजस्ती वृक्षारोपण गराएर उनी थप विवादमा मुछिएका छन् ।

साम्पाङ शनिबार बिहानै धरान वडा नम्बर ४ मा पर्ने छोटी मोरङमा आफ्ना समर्थकसहित वृक्षारोपण गर्न पुगेका थिए । सयौँ समर्थकलाई लिएर त्यहाँ पुगेका उनले वृक्षारोपण गर्न लागेको जग्गा भने निजी व्यक्तिको थियो ।

ति व्यक्तिले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गालाई सर्दु जलाधार क्षेत्रको भन्दै जबरजस्ती वृक्षारोपण गराएपछि उनी आलोचित पनि बनेका छन् । उनले जग्गाधनीलाई नगर प्रहरी लगाएर लछारपछार पार्दै वृक्षारोपण गराएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ ।