काठमाडौं,२१ साउन
चितवन २ मा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको मोबाइल क्लिनिक गाडी पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएको १०० दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंग लगाएर साउन १७ गतेदेखि मोबाइल क्लिनिक चलाउने घोषणा गरेका थिए।
तर गैरकानुनी रुपमा रंग परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै विवाद भएको थियो।विवादपछि गाडी पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरिएको छ। अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रुपमा चलाउने रास्वपाले बताएको छ।
उक्त एम्बुलेन्स ११ वर्षअगाडि भारतीय दूतावासले पुरानो मेडिकल कलेजलाई दिएको थियो। एम्बुलेन्स लामो समयदेखि नवीकरण भएको थिएन। गत साउन १४ गते जरिवाना तिरेर नवीकरण गरेपछि मोबाइल क्लिनिकका प्रयोगमा ल्याएका थिए।
मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको पुरानो मेडिकल कलेज भरतपुरको एम्बुलेन्स फिर्ता भए पनि सेवा जारी रहने लामिछानेले बताएका हुन्।








