प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अध्यागमन र भिजिट भिसा समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले अध्यागमन र भिजिट भिसालाई व्यवस्थित गर्नका लागि आवश्यक कानुनी र संरचनागत सुधार गर्न निर्देशन दिएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

‘विश्वव्यापी प्रचलनलाई ध्यान दिँदै अन्तर्राष्ट्रिय मापदण्डअनुसार अध्यागमन कार्यालयलाई व्यवस्थित बनाउन भनेका छौँ,’ उनले भने । समितिले अध्यागमन सम्बन्धमा रहेको विद्यमान ऐन, नियममा समयानुसार परिमार्जन गर्न, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत ठाउँमा अध्यागमनलाई सरल र सहज बनाउन आवश्यक पहल गर्न गृहलाई भनेको छ ।

त्रिभुवन विमानस्थलको अध्यागमनमा देखिएको अपुग जनशक्ति व्यवस्थापन गर्न पनि निर्देशनमा भनिएको छ । भिजिट भिसालगायत नाममा भइरहेको मानव तस्करी तथा भिजिट भिसा प्रकरणमा देखिएको समस्या समाधान गर्न, बुद्ध जन्मस्थल लुम्बिनीलगायत विभिन्न स्थानमा ध्यान गर्न नेपाल आउने अन्तर्राष्ट्रिय बौद्ध भिक्षुलाई श्रम भिसा दिनुभन्दा ऐन, नियममा परिमार्जन गरी अन्य व्यवस्था गर्न पनि भनेको छ ।

खुला सिमानामा सुरक्षा व्यवस्था कडा बनाउन, राष्ट्रिय सुरक्षा नीति समयानुकूल परिमार्जन गर्न र सीमा व्यवस्थापन तथा सञ्चालन ऐन बनाउन पनि निर्देशन दिइएको छ ।

समिति बैठकमा सांसदहरूले अध्यागमनबाट आवतजावत सहज बनाउनुपर्ने, भारतसँगको खुला सीमा नियन्त्रण गर्नुपर्ने, रोहिंग्या शरणार्थी प्रवेशमा निगरानी गर्नुपर्ने, ऐन नै परिमार्जन गरेर जानुपर्ने, व्यावहारिक र कानुनी रूपमा सुधार गर्नुपर्ने, अध्यागमनमा अत्याधुनिक मेसिनहरू सञ्चालन गर्नुपर्ने, कर्मचारीलाई विवेक प्रयोग गर्न दिन नहुने, समयमा कर्मचारी पदपूर्ति गर्नुपर्ने, बलियो समन्वय हुनुपर्ने, राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्नुपर्ने, सीमा व्यवस्थापन ऐन ल्याउनुपर्ने, ओभरस्टे व्यवस्थित गर्नुपर्ने, सेटिङमा संलग्नलाई कारबाही गर्नुपर्ने, कर्मचारीलाई मानवीय आचरणको तालिम दिनुपर्ने विषय राखेका थिए ।