काठमाडौं । नेपालमा होली वाइन काण्डका रूपमा चर्चित प्रकरणमा जोडिएकी एक क्रिश्चियन धर्मप्रचारक संस्थाकी प्रमुख हान अक जा पक्राउ परेकी छन् । दक्षिण कोरियामा राजनीतिक र व्यापारिक फाइदा पाउन राष्ट्रपतिकी पत्नीलाई महँगा उपहार र घुस दिएको आरोप लागेको विवादास्पद यूनिफिकेशन चर्चकी प्रमुख पक्राउ परेको रोयर्टसले  जनाएको छ ।

हान हाक-जको नेतृत्वमा रहेको सो चर्चमाथि तात्कालिन राष्ट्रपति यून सुक यउलकी पत्नी किम गन हीलाई दुईटा महँगा शेनल ब्रान्डका ब्याग र एउटा हीराको हार दिएको आरोप लागेको छ। ती सामानको मूल्य ८ करोड वोन अर्थात नेपाली ८२ लाख रुपैया पर्छ ।

सो चर्चका संस्थापक सन म्यङ मूनकी पत्नी हानले घुस खुवाएको आरोप बारम्बार खण्डन गर्दै त्यसलाई “झुटो“ भन्दै आएकी थिइन् । युनिफिकेशन चर्चले अदालतको आदेश मान्य रहेको जनाएको छ ।

सो चर्चसँग जोडिएका एकनाथ ढकालको अगुवाइमा नेपालमा गिरिजाप्रसाद कोइराला,माधवकुमार नेपाल, केपी शर्मा ओलीलगायतका नेता प्रधानमन्त्री भएका बेला विवादस्पद कार्यक्रम आयोजना भएका थिए । पछिल्लोपटक ओली प्रधानमन्त्री भएका बेला सोल्टी होटलमा भएको कार्यक्रममा होली वाइन खुवाइएको विषय विवादमा परेको थियो ।

के थियो होलीवाइन काण्ड ?

२०७५ मंसिरमा एसिया प्यासिफिक सम्मेलनका नाममा आयोजना गरिएको विवादास्पद कार्यक्रममा ‘सच्चा माता’ भनिने दक्षिण कोरियाकी ती धर्मगुरुले सयौं जोडीहरुको रक्तसुद्दी गर्ने भन्दै ‘होली वाइन’ (पवित्र रक्सी) पिलाएकी थिइन् ।

हायात होटलमा आयोजित सम्मेलनको दोस्रो दिनमा ‘ब्लेसिङ’ समारोह आयोजना गरिएको थियो र यसमा प्रधानमन्त्रीदेखि स्थानीय निकायका प्रमुखसम्मलाई जोडीसहित निमन्त्रण गरिएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले माताबाट ‘गुड गभर्नेन्स अवार्ड’सहित एक लाख डलरको पुरस्कार लिएका थिए ।  तर, विवाद आएपछि तत्कालीन प्रधानमन्त्री, मन्त्रीहरु र अधिकांस स्थानीय निकायका प्रमुखले हाेली वाइन कार्यक्रम बहिष्कार गरे । नेपाली उद्घोषकले होली वाइनलाई ‘होली वाटर’ भनेका थिए । तर, अंग्रेजी उद्घोषकले भने होली वाइन नै भनेका थिए ।

प्लास्टिकको कपमा पहेँलो पदार्थ सबै जोडीहरूलाई घुट्क्याउन दिइएको थियो । साथै, उनीहरुलाई एक अर्काको हात समातेर ‘सच्चा पिता’ भनिने यूनिफिकेसन चर्चका धर्मगुरुसन म्योङ मुनलाई सम्झिँदै प्रार्थना गर्न लगाइएको थियो । पछि ‘सच्चा माता’ हाक जा हान मुनले सबै जोडीहरुलाई ‘पवित्र रक्सी’ ले सेचन गरिएकी थिइन् । मुनकी पत्नी हाक जा नै आज पक्राउ पर्ने महिला हुन् ।

यूनिफिकेशन चर्चको सिद्धान्त अनुसार यसरी होली वाइन पिउनले जोडीहरु मुन दम्पत्तिको बंशमा समाहित हुन्छन् । यो विवाहित जोडी वा विवाहयोग्य जोडीहरुलाई यस कार्यक्रममा समावेश गरिन्छ । होली वाइन नपिइकन यस चर्चले कसैलाई पनि विवाहको मान्यता दिँदैन ।