काठमाडौं । जन्मदर बढाउने उद्देश्यले चीनले कन्डमलगायत परिवार नियोजनका अस्थायी साधन महँगो बनाएको छ । चीनले जनवरी १ देखि गर्भनिरोधक साधनहरूमा १३ प्रतिशत बिक्री कर लगाएको हो ।
यो नयाँ कर चीनको भ्याट प्रणालीको व्यापक सुधारको हिस्सा हो । सन् १९९३ मा पहिलोपटक यो लागू भएको थियो । त्यतिबेला गर्भनिरोधकहरू भ्याट वा करमुक्त थिए । यसको कारण चीनले एक–सन्तान नीति कडाइका साथ लागु गरेको र राज्यको प्राथमिकतामा निःशुल्क वा अनुदान प्राप्त जन्म नियन्त्रण प्रदान गरेको थियो । त्यो युगमा केही महिलाहरू जबरजस्ती गर्भपतन गरिन्थ्यो र कोटाभन्दा बढी जन्मिएका बालबालिकालाई नागरिकत्वबाट वञ्चित गरिन्थ्यो ।बीबीसीकाअनुसार विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनले आफ्नो मुलुकमा जन्मदर बढाउने प्रयास गरिरहेको छ । वृद्धको बढ्दो जनसंख्या र सुस्त अर्थतन्त्रको सामना गरिरहेको चीनले नागरिकलाई विवाह गर्न र जोडीलाई बच्चा जन्माउन प्रोत्साहन गर्न विभिन्न प्रयास गरिरहेको छ ।
आधिकारिक तथ्यांकअनुसार चीनको जनसंख्या लगातार तीन वर्षदेखि घटिरहेको छ र सन् २०२४ मा १ करोडभन्दा कम बच्चा जन्मिए । यो एक दशकअघिको जन्म संख्याभन्दा आधा हो । त्यसयता चीनले बच्चा जन्माउने नियमलाई खुकुलो बनाउँदै लगेको हो ।यस क्रममा अहिले चीनले कन्डमलगायत परिवार नियोजनका अस्थायी साधनमा कर लगाउँदै महँगो बनाएको हो । तर, कतिपयले महँगो बनाउँदैमा मानिसले कन्डम प्रयोग नगर्ने र धेरै बच्चा जन्माउने अवस्था नआउने टिप्पणी गरेका छन् ।
केही सार्वजनिक स्वास्थ्य विज्ञहरूले उच्च खर्चले विद्यार्थी र कम आय भएका समूहहरूमा गर्भनिरोधक पहुँच घटाउन सक्ने डर व्यक्त गरेका छन् । यसले अनियोजित गर्भधारण र यौन संक्रमित रोगहरूको जोखिम बढाउन सक्छ ।
एक कन्डम सामान्यतया ४०–६० युआनमा पर्छ भने एक महिनाको गर्भनिरोधक चक्की ५०–१३० युआनमा पर्छ । गार्जियनका अनुसार गर्भनिरोधकमा कर लगाउँदा वार्षिक करिब ५ अर्ब युआन राजस्व आउनेछ, जुन चीनको २२ ट्रिलियन युआनको सार्वजनिक बजेटको तुलनामा नगन्य छ ।








