काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएर देशबाहिर लगिएको केही घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले कम्तीमा अस्थायी रूपमा भेनेजुएला चलाउने र यसको विशाल तेल भण्डार अन्य राष्ट्रहरूलाई बिक्री गर्ने योजना बनाएको बताएका छन् ।

उनले शनिबार पत्रकारसँग कुरा गर्दै नेतृत्वको शून्यतालाई प्रयोग गरी तेल पूर्वाधार सुधार्ने र ठूलो परिमाणमा तेल निर्यात गर्ने तयारी रहेको स्पष्ट पारे ।

यो नाटकीय घटनाक्रम दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामाथि ट्रम्प प्रशासनले महिनौँदेखि गर्दै आएको गहिरो दबाब र गोप्य योजनाको परिणामका रूपमा देखिएको छ

सन् २००३ मा इराक आक्रमणपछि शासन परिवर्तन हासिल गर्ने यो सबैभन्दा आक्रामक अमेरिकी कदम मानिएको छ । तर, कङ्ग्रेसको स्वीकृतिबिना गरिएको यस सैन्य कारबाहीको कानूनी वैधतामाथि कानुनी विज्ञहरूले तुरुन्तै प्रश्न उठाएका छन् ।