प्रतिनिधिसभा सदस्य पदका लागि चितवन क्षेत्र नं.३ बाट उमेदवार बनेका राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले नेपालमा सबै जातजातिको भूमिका उत्तिकै सशक्त रहेको बताएका छन्। भरतपुर–१५ लमजुङचोकमा सोमबार बिहान भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता पाण्डेले जाति र धर्ममा अझै पनि भित्रभित्र विभेद भइरहेकोले त्यसलाई रोक्नुपर्ने बताएका हुन्। 
राज्यले नै दलित समुदाय भनेर वर्गीकरण गर्दा त्यसले भित्रभित्रै सामाजिक सद्भाव खल्बल्याउने काम भएको पूर्वमन्त्रीसमेत रहेका नेता पाण्डेले बताए। ‘नेपालमा देश निर्माणका हरेक जातिको आ–आफ्नै योगदान र पहिचान छ। सबै जातिको भूमिका उत्तिकै सशक्त छ,’ उनले भने, ‘त्यसैले कुनै पनि जातिले आफूलाई असहज लाग्यो भन्दैमा जात लुकाउन हुँदैन।’
नेपाली समाजमा संविधानमा सम्बोधन भए पनि व्यवहारमा अझै पनि यो जात र त्यो जात भनेर वर्गभेद गर्ने कामको अन्त्य नभएको भन्दै लेखिएको संविधानलाई पूर्णरूपमा कार्यान्वयन गराएर वर्गभेदको अन्त्य गर्न पनि आफूलाई जिताएर पठाउनु आवश्यक रहेको उनले बताए।
चितवन क्षेत्र नं.३ मा प्रतिनिधिसभामा नेता पाण्डे र प्रदेश सभा सदस्य पदका लागि १ मा गिरबहादुर तामाङ (ज्ञानजंग लामा) र २ मा रीना गुरूङले उमेदवारी दिएका छन्। सोही आधारमा पनि राप्रपाले खस आर्य, आदिवासी जनजाति, महिला, दलित सबै जातिको हितमा काम गर्दै आएको बताएका हुन्।
नेता पाण्डे सोमबार बिहान चुनावी घरदैलोका क्रममा बेलुवा पुगेका हुन्। यसपटक राष्ट्रको पक्षमा मतदान गर्नको लागि पनि उनले आग्रह गरे।







