भरतपुर । चितवन क्षेत्र नं ३ का सत्तारुढ गठबन्धनका उमेदवारहरुले असल राजनीतिक संस्कारलाई अवलम्बन गरेको बताएका छन् । बुधबार भरतपुर–७ मा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले हिलो छ्यापाछ्याप गर्ने राजनीतिक संस्कार अवलम्बन नगर्ने बताए ।

चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभाका गठबन्धनका साझा उमेदवार भोजराज अधिकारीले राम्रा एजेन्डाका कारण चुनाव जित्ने दाबी गरे । उनले भने, ‘हामी कसैको आलोचना गर्दैनौँ, अरु दल तथा उमेदवारलाई गाली गरेर हामी राम्रो बन्न खोज्दैनौँ, एजेन्डाका कारण चुनाव जित्छौँ ।’

पत्रकार सम्मेलनमा उनले भने, ‘मेरो एजेन्डा ६ वटा ‘स’ अर्थात् सेवा र सुशासन, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, स्वरोजगार, सडक सञ्जाल तथा भौतिक निर्माण हो । यही एजेन्डा टेकेर विकास गर्ने हो, यसरी अन्य कुनै उमेदवारले एजेन्डा नै ल्याएका छैनन् ।’

कार्यक्रममा चितवन–३ का प्रदेशका उमेदवारहरु ठाकुरप्रसाद ढकाल, डा. सूर्यकान्त घिमिरेले गठबन्धनका उमेदवारहरुको जित सुनिश्चित भएको दाबी गरे । पत्रकार सम्मेलनमा चितवन–३ मा प्रतिनिधिसभामा स्वतन्त्र उमेदवारी दिएका भरतपुर–१७ का राजन सापकोटाले डा. भोजराज अधिकारीलाई समर्थन गर्ने बताए । उनले आफ्नो उमेदवारी निष्क्रियसमेत भएको जानकारी दिए ।