काठमाण्डाैँ,

गैरआवासीय नेपाली संघ (एनआरएनए), युकेले वंशजको आधारमा दिइने नेपाली नागरिकताको हैसियतलाई निरन्तरता दिन आग्रह गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्दै भूतपूर्व गोर्खा मुद्दा, वंशजको नेपाली नागरिकताको निरन्तरता, संघको विवादलगायत विषयमा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले जानकारी गराएका हुन् ।

सो क्रममा अध्यक्ष गाहामगरले मातृभूमि छाडेर विदेश जान बाध्य नेपालीहरुलाई सँधैका लागि नेपाली नै रहिरहन दिनको निम्ति नेपालको नागरिकता ऐन, २०६३ को दफा १० लाई पूर्णतः संशोधन गर्न जरुरी रहेको बताएका छन् । सोही ऐनको दफा १० को उपदफा (१) अन्तर्गत नेपालको कुनै नागरिकले आफूखुशी कुनै विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम नरहने व्यवस्था छ ।

नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको उल्लेख गर्दै एनआरएनएले नेपालीहरुले अन्य देशको नागरिकता लिएमा निजको नेपाली नागरिकता स्वतः खारेज नभई राजनीतिक अधिकार मात्रै निष्क्रिय हुने व्यवस्था गर्नुपर्ने माग राखेको छ ।

यसै गरी, विदेश गएका नेपालीहरू फर्किएर निश्चित समयका लागि नेपाल बसेपछि नागरिकता पुनः सक्रिय हुने प्रबन्ध मिलाउन एनआरएनएले भनेको छ।