काठमाण्डाैँ,
काठमाडौँ – कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जसपालाई उपराष्ट्रपति दिने निर्णय भइनसकेको दाबी गरेका छन्।
उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भएपनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको उनको दाबी छ।शुक्रवार ललितपुरको बोडे गाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर खड्काले उपराष्ट्रपतिका बारेमा औपचारिक निर्णय हुन बाँकी रहेको खुलाएका हुन्।
उनले भने, ‘उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी, सहमति भएका छन्। प्रधानमन्त्रीजीले त्यसको संयोजन गर्नुहुनेछ। सम्बन्धित दल र नेताहरुको बैठक बोलाएर औपचारिक रुपमा निर्णयमा पुग्छौँ। दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम आउनेछ। जसपालाई उपराष्ट्रपति दिनेकुरा ८ दलको बीचमा प्रवेश गरिसकेका छैन। त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ।’
सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच आफूलाई उपराष्ट्रपति दिने निर्णय भइसकेको जनाउँदै जसपाले बारा २ बाट निर्वाचित सांसद रामसाहयप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। यस्तैउपसभापति खड्काले कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्नेकुरा सपनामा पनि नसोच्न आग्रह गरे। उनले पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहा¥याउने उल्लेख गरे।
गठबन्धन पाँचै वर्ष टिक्ने खड्काले बताए। एमाले अध्यक्ष केपी ओलीको भनाइप्रति असहमति जनाउँदै उनले भने, ‘अब उहाँले कुन सन्दर्भमा कसरी त्यो कुरा राख्नुभएको छ उनको कुरा हो। तर कांग्रेस माओवादीसहितको दलहरु हामी पुस १० गते भत्किएको कुरालाई फेरि कमजोरी र गल्ती स्वीकार्दै एजेण्डामा सहमति भएका दलहरु यी एजेण्डामा टसमस नभएर ५ वर्ष अघि बढ्छौँ। काँग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग काँग्रेसले सहमति गर्ला, होला भन्ने कसैले नसोचे हुन्छ। त्यो सपनामा मात्रै सम्भव छ।’
खड्काले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको बिस्तार हुने बताए। उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने र त्यसको कही दिनमा मात्रै सरकार बिस्तार हुने जानकारी दिए। उहाँले आगामी सरकार पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा बन्ने र काँग्रेस पनि सरकारमा सहभागी हुने बताए।








