काठमाण्डाैँ,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध उनी सहभागी कार्यक्रममा नाराबाजी भएको छ । मंगलबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित सार्वजनिक समारोहमा तीनजना युवाले प्रधानमन्त्री विरुद्ध नाराबाजी गरेका हुन्।
एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर, प्रहरीले ती युवालाई पक्रिन खोज्दा उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै विरोध गरेका थिए । त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए ।
दुवैजनालाई प्रहरीले भ्यानमा राख्दै गर्दा ‘गरिब मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, युवालाई मार्न पाइँदैन-यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौं’ भन्दै नाराबाजी गरेका थिए ।








