काठमाण्डाैँ,
वीरगञ्ज महानगरपालिकाले वीरगञ्जस्थित नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय परिसरमा फोहोर थुपारिदिएको छ ।
महानगरगरका कर्मचारी र नगरप्रहरीको टोलीले ७ ट्याक्टर फोहोर टेलिकम परिसरभित्र लगेर फालिदिएका थिए ।
वीरगञ्ज महानगरपालिका अनुसार टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक विगार्दा नगरवासीले पीडा भोग्नु परेको र सडक बनाइदिन पटक पटक आग्रह गर्दासमेत अटेर गरेपछि श्रीपुरस्थित क्षेत्रीय कार्यालय परिसरमा सांकेतिक विरोधस्वरुप फोहोर खसालेको हाे।
फागुन ३ गते प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितीमा बसेको सरोकारवाला निकायको बैठकमा टेलिकमले खनिएको सडक र फुटपाथ फागुन मसान्त भित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको थियो ।
सहमति पालना गराउन आग्रह गर्दै महानगरले जिल्ला प्रशासन कार्यालय पर्सालाई समेत पत्र लेखेको मेयरका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए। ‘धेरैपटक अनुरोध गरेका हौ, अटेर गरेपछि हामीले कति चोटी अनुरोध मात्रै गर्ने ? नगरबासीलाई त महानगरले नै काम गरेन भन्ने सन्देश गइरहेको छ ।उनले भने, ‘टुलुटुलु हेरेर बसिरहन सकिएन, अरु कुनै विकल्प नै भएन, फोहोर लगेर फालिदिएका छौं।’
वाइपास सडक खण्डमा नेपाल खानेपानी संस्थान र मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाईन आयोजनाले समेत योजना कार्यान्वयनका क्रममा सडक खनेका छन् । खानेपानी र पेट्रोलियमले अपेक्षित काम गरे पनि टेलिकमले कामै नगरेपछि आजको कदम चालिएको घिमिरेले बताए ।