साताको अन्तिम कारोबार दिन बिहीबार शेयरबजार परिसूचक नेप्से साढे ४ अंकले बढ्दै बन्द भएको छ । यस दिन नेप्से सूचक ४.५९ अंकले बढेर २ हजार ६४०.५४ अंकमा उक्लिएको हो । तथापि, यता कारोबार भने आज पनि केही घट्न पुगेको छ ।

अघिल्लो दिन १३ अंकमाथिले नेप्से घटेको बजारमा ५ अर्ब १७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । तर, आज सूचक बढ्दा पनि कारोबार भने घटेर ४ अर्ब ९० करोडमा समेटिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आज बैंकिङ समूह, डेभलपमेन्ट बैंक समूह, होटल तथा पर्यटन समूह, हाइड्रोपावर, जीवन बीमा, म्यानु एण्ड प्रो र निर्जीवन बीमा समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी ६ वटा उपसूचकहरू ऋणात्मक भएका छन् ।

१२९ कम्पनीको शेयर मूल्य बढ्दा आज ११५ कम्पनीको मूल्य घटेको छ । आज सान्भी इनर्जीको शेयर मूल्य सबैभन्दा बढी ८.१६ प्रतिशतले बढेको छ भने अघिल्लो दिन ८ प्रतिशतभन्दा बढीले मूल्य घटेको एसवाई प्यानल नेपालले कमब्याक गर्दै ५.७१ प्रतिशतले मूल्य बढाएको छ । यसदिन एसवाई प्यानल नेपालको २० करोड ६ लाख रुपैयाँमाथिको शेयर दोस्रो बजारमा कारोबार भएको छ ।