प्रतिनिधिसभाका सांसदहरूले संस्कृति संरक्षणका नाममा समाजमा विद्यमान कुप्रथा, अन्धविश्वास र रूढीवादी परम्परालाई प्रश्रय दिने गरी चलचित्र निर्माण हुन नदिने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चलचित्र विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसदहरूले यस्तो बताएका हुन् । चलचित्र जाँच समितिको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने र अन्तरिम आदेश ल्याउने प्रवृत्ति रोक्न सञ्चार मन्त्रालयलाई क्षेत्राधिकार तोक्न समेत उनीहरूको माग छ ।








