काठमाडौं — डिजिटल भुक्तानी सेवामा अग्रणी मानिएको इसेवाप्रति पछिल्लो समय सेवाग्राहीको गुनासो बढ्दै गएको छ। भुक्तानी सम्पन्न नहुनु, रकम खाताबाट कटौती भएर पनि सम्बन्धितलाई प्रवाह नहुनु, र ग्राहक सहायता सेवाबाट समयमै जवाफ नआउनुजस्ता समस्याले सेवाग्राही आजित भएका छन् ।

सेवाग्राहीका अनुसार मोबाइल र इन्टरनेटमार्फत सहज र छिटो सेवा दिने दाबी गरिए पनि व्यवहारमा भने प्राविधिक समस्या दोहोरिने गरेको छ। विशेषगरी मोबाइल रिचार्ज, बिजुली–पानी लगायतको बिल भुक्तानी तथा बैंक ट्रान्सफरका क्रममा रकम अड्किने समस्या देखिएको उनीहरूको गुनासो छ।

यस्तै, समस्या आएपछि ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्दा लामो समयसम्म प्रतिक्रिया नआउने, टिकट खोलेर पनि समाधान हुन ढिलाइ हुने गरेको एक सेवाग्राहीले गुनासो गरे । “डिजिटल कारोबारमा विश्वासकै आधार हुन्छ, तर बारम्बार समस्या आएपछि भरोसा घट्दै गएको छ,” उनले बताए।

डिजिटल भुक्तानीको प्रयोग बढेसँगै सेवाको गुणस्तर र उपभोक्ता संरक्षण अझ बलियो हुनुपर्ने सरोकारवालाहरूको धारणा छ। प्रविधि विस्तारसँगै छिटो गुनासो समाधान प्रणालीमा सुधार नगरे डिजिटल सेवाप्रति उपभोक्ताको विश्वास कमजोर हुन सक्ने सेवाग्राहीहरु बताउँछन् ।

यस विषयमा इसेवाले भने समय–समयमा प्रणाली स्तरोन्नति भइरहेको र प्राविधिक कारणले देखिने समस्या समाधानका लागि प्रयासरत रहेको जनाएको छ। तर, सेवाग्राहीले भने व्यवहारिक सुधार तत्काल देखिनुपर्ने माग गरेका छन्।