झापाको कन्काई नगरपालिकास्थित माइखोलाको पुलमा प्रेसर कुकर बम राखेर स्थानीयमा डर त्रास र आतंक सिर्जना गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ‘सनातन सुरक्षा सेना, नेपाल’का संयोजक भनिने ४६ वर्षीय सञ्जय उर्फ खगेन्द्र खरेल रहेका छन् । झापाको दमक नगरपालिका-१ घर भई हाल कन्काई–८ मा बस्दै आएका खरेललाई बिहीबार लक्ष्मीपुरस्थित साथीको घरमा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।यही पुस १९ गते पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत कन्काई पुलको पूर्वतर्फको डिभाइडरमा कालो झोलाभित्र प्रेसर कुकर बम राखी उनले शान्ति सुरक्षामा खलल पुर्‍याएका प्रहरीले जनाएको छ । उक्त घटनाका कारण सडकमा आवतजावत अवरुद्ध हुनुका साथै सर्वसाधारणमा ठूलो त्रास फैलिएको थियो ।

सोही अवैध कार्यमा संलग्न रहेको देखिएपछि उनलाई मुलुकी अपराध संहिता २०७४ को राज्यविरुद्धको कसुर र विष्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमार्फत् झापा जिल्ला अदालतमा उपस्थित गराइएको छ । अदालतले उनलाई पहिलोपटक ५ दिनको म्याद थप गरी हिरासतमा राख्न अनुमति दिएको छ ।

पक्राउ परेका खरेलको आपराधिक इतिहास निकै लामो र गम्भीर रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी यसअघि विष्फोटक पदार्थ सम्बन्धी कसुरमा सजाय भोगिरहेको अवस्थामा २०८२ भदौ २४ गते झुम्का कारागारमा भएको ‘जेनजी आन्दोलन’को मौका छोपेर भागेका थिए ।

प्रहरीका अनुसार उनी यसअघि पनि पटक–पटक विभिन्न विष्फोटक घटनामा संलग्न रहँदै आएका थिए । २०७८ चैत १४ गते सुनसरीको इटहरी–२ मा बम विष्फोट गराई मानिस घाइते भएको घटनामा उनी पक्राउ परेका थिए । त्यतिबेला उनी ‘हिमाल सुरक्षा परिषद् नेपाल’को अध्यक्ष भई सशस्त्र गतिविधिमा संलग्न थिए ।

त्यसैगरी, उनले २०८१ फागुन १३ गते इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि र भोटेपुल नजिकै प्रेसर कुकर बम राखेर फरार भएका थिए । उनले २०७६ वैशाख ३० गते पनि कन्काई पुलकै डिभाइडरमा विष्फोटक पदार्थ राखेर आतंक फैलाएको रेकर्ड छ ।

त्यति मात्र नभई, उनले २०७८ माघमा दमकको शिवान चर्चमा र २०७६ माघमा बिर्तामोड बसपार्कमा नक्कली बम राखेर पटक–पटक शान्ति सुरक्षामा खलल पुर्‍याएका थिए । उनले समय–समयमा संगठनको नाम परिवर्तन गर्दै आपराधिक गतिविधि गर्ने गरेको देखिएको छ ।

२०७६ सालमा ‘गोर्खा जन्मुक्ति पार्टी’, २०७८ मा ‘हिमाल सुरक्षा परिषद्’ र पछिल्लो समय २०८२ मा ‘सनातन सुरक्षा सेना, नेपाल’ खोलेर उनले राज्यविरुद्धका गतिविधि र विष्फोट गराउँदै आएको प्रहरीले जनाएको छ ।