काठमाडौं । राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारीपछि भेनेजुएलामा अब एक नयाँ युगको सुरुआत हुने संकेत देखिएको छ ।

भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बिहीबार मादुरोको गिरफ्तारीपछि पहिलो पटक देशलाई सम्बोधन गरिन् । सम्बोधनमा रोड्रिगेजले देशको तेल उद्योगलाई विदेशी लगानीकर्ताका लागि खुला गर्ने संकेत दिएकी छन् । रोड्रिगेजको यो सम्बोधनमा भेनेजुएलामाथि अमेरिकी दबाबको झलक प्रस्ट देखिन्थ्यो ।

मादुरो युगपछिको आफ्नो पहिलो सम्बोधनमा रोड्रिगेजले देशको विकास र राजनीतिक स्थितिको खाका प्रस्तुत गरिन् । रोड्रिगेजले तेल उद्योगका लागि नयाँ नीति बनाइएको जानकारी दिँदै विदेशी लगानीकर्ताहरूलाई यस नीतिबारे जानकारी गराउन कूटनीतिज्ञहरूलाई निर्देशन दिइन् ।

भेनेजुएलाको नयाँ नीतिमा अमेरिकी दबाब स्पष्ट देखिने बताइएको छ । ट्रम्प प्रशासनले तेल बिक्रीबाट प्राप्त हुने रकम भेनेजुएलाका जनताको हितमा खर्च गरिनुपर्ने बताएको थियो ।

अहिले रोड्रिगेजले पनि तेल बिक्रीबाट आउने पैसा राष्ट्रिय बजेटमा समावेश गरी देशको विकासमा लगाइने बताएकी छन् ।

ह्युगो चाभेज र निकोलस मादुरोको कार्यकालमा बिग्रिएको भेनेजुएलाको स्वास्थ्य सेवा र पूर्वाधारलाई सुधार गर्ने कुरा सम्बोधनमा उल्लेख गरिएको छ ।

रोड्रिगेजले आफ्नो सम्बोधनमा अमेरिकाद्वारा निकोलस मादुरोलाई गिरफ्तार गरिएको घटनाको कडा आलोचना गर्दै यसलाई दुई देशबीचको सम्बन्धमा धब्बा भएको बताइन् । यद्यपि, उनले आश्चर्यजनक रूपमा अमेरिकासँग द्विपक्षीय सम्बन्धको वकालत पनि गरिन् ।

४४ मिनेट लामो भाषणमा रोड्रिगेजले भनिन्, “हामी कूटनीतिसँग डराउनु हुँदैन । यदि म वासिङ्टन गए भने घिस्रिँदै होइन शिर ठाडो पारेर जानेछु ।”

सम्बोधनका क्रममा उनको नजिकै निकोलस मादुरो र उनकी पत्नीको तस्बिर पनि राखिएको थियो । यसलाई रोड्रिगेजले एकातिर मादुरोका समर्थकहरूलाई खुसी पार्न खोजेको र अर्कोतिर अमेरिकालाई पनि चिढ्याउन नचाहेको रूपमा हेरिएको छ ।

एक दिनअघि मात्र भेनेजुएलाको कार्यवाहक सरकारले मादुरो शासनका क्रममा पक्राउ परेका कैदीहरूलाई रिहा गरेको थियो । अमेरिकाले ३ जनवरीमा भेनेजुएलाविरुद्ध ‘अपरेसन एब्सोल्युट रिजल्भ’ चलाएको थियो ।

यस अपरेसनमा अमेरिकी सेनाले राष्ट्रपति मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी अमेरिका लगेको थियो । मादुरो हाल अमेरिकी हिरासतमा छन् र त्यहाँ मुद्दाको सामना गरिरहेका छन् । मादुरोको गिरफ्तारीपछि डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपति बनाइएको हो ।