काठमाडौँ । प्रमुख राजनीतिक दलका शीर्ष नेता र जनस्तरमा लोकप्रिय पात्रलाई एउटै मञ्चमा राखेर सार्वजनिक बहस गराउन सामाजिक सञ्जालमा व्यापक माग उठेको छ । देशको भावी नेतृत्व र विकासको स्पष्ट मार्गचित्रबारे बुझ्न भन्दै सञ्चारकर्मी र सर्वसाधारणले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बिच साझा बहसको प्रस्ताव गरेका हुन् ।
विभिन्न सञ्चार माध्यममा सक्रिय पत्रकारले यस विषयमा औपचारिक आह्वान गरेपछि सामाजिक सञ्जालमा यसले अभियानकै रूप लिएको छ । विशेषगरी सामाजिक सञ्जाल प्रयोगकर्ताले देश निर्माणका लागि ठोस नीति, योजना र कार्यक्रममाथि यी तीन पात्रबिच खुला छलफल हुनुपर्नेमा जोड दिएका छन् ।
सञ्चारकर्मी टीकाराम यात्रीले सामाजिक सञ्जालमार्फत तीनै जनालाई खुला बहसका लागि आह्वान गरेका छन् । उनले लेखेका छन्, “नेपाली काङ्ग्रेसले गगनकुमार थापा, नेकपा एमालेले केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई औपचारिक रूपमै भावी प्रधानमन्त्रीको उमेदवार बनाएकाले देश निर्माणका लागि यहाँहरूका ठाेस नीति, योजना र कार्यक्रमसहित साझा बहसका लागि यहाँ तिनै जनालाई हार्दिक आह्वान गर्दछौं ।” यस्तो बहसले सही पात्र छनौट गर्न मतदातालाई मद्दत गर्ने यात्रीको विश्वास छ ।
त्यस्तै हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’ का प्रस्तोता निमेष बन्जाडेले पनि ओली, थापा र शाहलाई एउटै मञ्चमा आउन खुला निमन्त्रणा दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “तपाईंहरूका देश बनाउने योजना सुन्न र नेपाली जनतालाई सुनाउन चाहन्छौँ । सभ्य र भव्य बहसका लागि हार्दिक निमन्त्रणा ।” यता काङ्ग्रेसका सहमहामन्त्री उदयशम्शेर राणाले तीनै जनालाई खुला बहसमा सहभागी बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।
यसअघि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति थापाले विभिन्न सञ्चार माध्यममा अन्तरवार्तामा सहभागिता जनाउँदै आएका छन् । तर, बालेनले भने पछिल्लो समय मूलधारका सञ्चार माध्यमसँगको संवादमा दूरी बनाएका छन् । बालेनले सञ्चार माध्यमलाई अन्तरवार्ता दिनुपर्ने माग गर्दै यसअघि ‘पेटिसन’ समेत चलाइएको थियो ।
सामाजिक सञ्जालमा उठेको यो मागलाई लिएर सर्वसाधारणले ‘वेस्टर्न डेमोक्रेसी’ मा हुने ‘प्रेसिडेन्सियल डिबेट’ जस्तै नेपालमा पनि शीर्ष नेताबिच प्रत्यक्ष प्रश्नोत्तर हुनुपर्ने धारणा राखेका छन् । हालसम्म तीनै पक्षबाट यस विषयमा कुनै औपचारिक प्रतिक्रिया भने आएको छैन ।








