काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको समूह राष्ट्रिय भेलाको तयारीमा लागेको छ । विशेष महाधिवेशनबाट किनारा लागेको उक्त समूह ११ माघमा हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनपछि राष्ट्रिय भेलाको तयारीमा लागेको हो ।
राष्ट्रिय भेलाको तयारीका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरूसँग परामर्शमा छन् ।
पुसमा सम्पन्न विशेष महाधिवेशनपछि विकसित पार्टीको आन्तरिक राजनीति र त्यसअघिको परिस्थितिका बारेमा समूहका नेता–कार्यकर्ताहरूलाई जानकारी दिन र आगामी रणनीति तय गर्न भेलाको तयारी भइरहेको बताइएको छ ।
विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई देउवा समूहले स्वीकार गरिसकेको छैन । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा समूह अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत गएको थियो ।








