काठमाडौँ — गैरसरकारी संस्था महासंघ नेपालको तेस्रो पूर्ण बैठक माघ ८ र ९ गते काठमाडौंमा सम्पन्न भएको छ ।

बैठकले देशको वर्तमान राजनीतिक अवस्था, लोकतन्त्र र आसन्न प्रतिनिधि सभा निर्वाचनका विषयमा छलफल गर्दै १५ बुँदे विशेष प्रस्ताव पारित गरेको छ ।

बैठकले तोकिएकै मितिमा शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकार, राजनीतिक दल र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

त्यस्तै, जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

बैठकले नीति-निर्माण प्रक्रियामा नागरिक समाजको आधिकारिक सहभागिता माग गरेको छ । साथै, समावेशीताको मर्मअनुसार महिला, दलित, आदिवासी, अपांगता भएका व्यक्ति, यौनिक अल्पसंख्यक तथा नवयुवाको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरिएको छ ।

महासंघका अध्यक्ष अर्जुन भट्टराई र महासचिव देवी खड्काले लोकतन्त्र, मानवअधिकार, शान्ति र सुशासनका पक्षमा नागरिक समाजको भूमिका अझ सशक्त रूपमा निर्वाह गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।