काठमाडौं । निर्वाचन आयोगले ‘नो नट अगेन’ (पुनः निर्वाचित नबनाऔँ) का अभियन्तालाई कारबाही गर्न दिएको निर्देशनविरुद्ध दायर रिटमा सोमबार (माघ १९) सुनुवाइको पेसी तय भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

०७९ को निर्वाचनमा निर्वाचन आयोगले ‘नो नट अगेन’ (पुनः निर्वाचित नबनाऔँ) का अभियन्तालाई कारबाही गर्न निर्देशन दिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दिएका थिए । त्रिपाठीले आयोगको निर्देशनमा नागरिकको अधिकारलाई निष्प्रभावी तुल्याउने दूषित मनसाय देखिएको जिकिर लिएका छन् । आयोगको निर्देशन संविधानको मौलिक हकविरुद्ध रहेको दाबी गर्दै खारेज गर्न माग गरिएको थियो ।

०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै आयोगले सामाजिक सञ्जालमा हुने निर्वाचन बहसलाई निरुत्साहित गर्ने गरी विज्ञप्ति जारी गरेको थियो ।

त्यतिबेला प्रमुख दलका शीर्ष नेताहरूलाई आगामी निर्वाचनमा पुनः निर्वाचित गराउन नहुने अभियानले तीव्रता पाएको थियो । त्यसपछि आयोगले सामाजिक सञ्जालमार्फत हुने यस्ता अभियान नरोकिए सम्बन्धित व्यक्ति वा समूहलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने चेतावनी दिएको थियो ।

त्यतिबेला आयोगले फेसबुक ग्रुप बनाई नेताहरूविरुद्ध लाञ्छनापूर्ण अभिव्यक्ति नदिन र त्यस्ता पेज वा गु्रप तत्काल हटाउन पनि आग्रह गरेको थियो । सर्वोच्चले उक्त विवादमा तीन वर्षपछि सुनुवाइको पेसी तय गरेको हो ।