काठमाडौं- नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आठौं नेपाल राइडर्स मिट हुने भएको छ।

हिमालयन मोटरसाइकल एक्सपेरियन्सको आयोजनामा आगामी फागुन २ देखि ४ गतेसम्म ललितपुरको चापखर्कमा उक्त मिट हुन लागेको हो ।

आयोजक द हिमालयन मोटरसाइकल एक्सपेरियन्सका संयोजक अर्जुन थापाका अनुसार यस वर्ष कार्यक्रममा नेपालसहित भारत, भुटान र म्यानमारका ५५० भन्दा बढी राइडर सहभागी हुनेछन्।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले मोटरसाइकल राइडिङले रोड ट्रिप, एडभेन्चर टुरिज्म र क्रस–बोर्डर पर्यटन विस्तारमा सहयोग पुग्ने बताए। उनका अनुसार, यस कार्यक्रमले केवल घुम्ने मात्र नभई नेपालका सांस्कृतिक, प्राकृतिक र अनुभवजन्य पक्षहरूलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर पनि प्रदान गर्नेछ।

आयोजक संस्था फोरे नेपालका सकिल गौचन, सहयोगी संस्था रोयल इन्फिल्डका निर्देशक मेगराज पौडेल र द हिमालयन क्लबका प्रमुख अनिल काफ्लेले नेपाल राइडर्स मिटलाई राइडिङ समुदायको महत्वपूर्ण पर्वका रूपमा उल्लेख गर्दै यसलाई पर्यटन प्रवर्द्धनको प्रमुख उत्पादनको रूपमा विकास गर्नुपर्ने जोड दिए।

सन् २०१३ मा बर्दियाबाट सुरु भएको नेपाल राइडर्स मिट हाल ५०० भन्दा बढी राइडरको सहभागी हुने कार्यक्रममा परिणत भइसकेको छ। यस मिटले गन्तव्यको नजिकबाट अनुभव गर्ने अवसर दिने मात्र नभई यात्रा कथाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवाह गर्ने प्रभावकारी माध्यम बन्ने आयोजकको विश्वास छ।

साथै कार्यक्रमले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, रमणीय राजमार्ग र आतिथ्य संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने तथा क्षेत्रीय साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा नेपाललाई स्थापित गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा स्थानीय उत्पादन तथा परिकारको प्रवद्र्धनमा विशेष जोड दिइने आजोजक द हिमालयन मोटरसाइकल एक्सपेरियन्सले जानकारी दिएको छ ।