काठमाडौँ। यातायात व्यवस्था विभागले विद्युतीय सवारी साधनका लागि छुट्टै भाडादर निर्धारण गर्ने तयारी थालेको छ। हालसम्म डिजेल बसको आधारमा भाडादर कायम हुँदै आएको भए पनि अब ईभी बसको वास्तविक सञ्चालन लागतलाई आधार मानेर नयाँ दर तय गर्नेबारे आन्तरिक छलफल सुरु गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार विद्युतीय बसको इन्धन खर्च कम हुने भएकाले भाडादरमा केही कमी ल्याउन सकिने आँकलन गरिएको छ। प्रारम्भिक प्रस्तावअनुसार भाडा करिब १० प्रतिशतसम्म घट्न सक्ने संकेत देखिएको छ।
निर्णयअघि विभागले व्यवसायी, यातायात संघसंस्था र अन्य सरोकारवालासँग परामर्श गर्ने तयारी गरेको छ। सहमतिका आधारमा अन्तिम निर्णय सार्वजनिक गरिने बताइएको छ।
यता यातायात व्यवसायीहरूले भने केवल इन्धन खर्चका आधारमा मात्र भाडा घटाउन नहुने बताएका छन्। उनीहरूले गाडीको खरिद लागत, ब्याट्री प्रतिस्थापन, मर्मतसम्भार, प्रविधि र बीमा खर्चसमेत समेटेर वैज्ञानिक ढंगले भाडादर निर्धारण गर्नुपर्ने धारणा राखेका छन्।
यदि प्रस्तावित व्यवस्था कार्यान्वयनमा आएमा शहरी र लामो दूरीका यात्रुहरूले केही राहत पाउने अपेक्षा गरिएको छ।








