काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीले छोटो समयमै देशभर जनताको माया, विश्वास र सद्भाव प्राप्त गरेको बताएका छन् ।

शनिबार रामेछापमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले पार्टी स्थापना भएको करिब तीन महिनामै व्यापक समर्थन देखिएको बताएका हुन् ।

उनले भने,‘आज देशैभरी उज्यालो नेपाल पार्टी छोटो समयमा ३ महिनाको समयमा यति धेरै जनताको माया, विश्वास र सद्भाव रहेको छ, त्यो देख्दाखेरी हामी साँच्चिकै अब एक नम्बरको पार्टी बन्न धेरै समय लाग्दैन ।’

उनले अबको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गएको उल्लेख गर्दै आगामी २०/२१ दिनको अभियानमा बढीभन्दा बढी सिट जित्ने लक्ष्य रहेको बताए ।

उनले आफ्नो पार्टीले निर्वाचनपछि सरकारको नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै उज्यालो नेपाललाई ‘चमत्कारी पार्टी’का रूपमा स्थापित गर्ने दाबी गरे ।

‘अब यो संसदको चुनाव हामीसँग २०/२१ दिन बाकी छ, यो २०/२१ दिनमा हामी बढीभन्दा बढी सिट जित्छौ र आगामि सरकारका हामी सरकरको नेतृत्व गर्छौ भन्ने हामीलाई विश्वास छ,’ उनले भने ।

घिसिङले पार्टी अब निरन्तर रूपमा संगठन विस्तारमा केन्द्रित हुने पनि बताए ।

साथै करिब १५/१६ महिनापछि हुने प्रदेश र स्थानीय तह निर्वाचनमा उज्यालो नेपाललाई देशको पहिलो पार्टी बनाउने लक्ष्य रहेको उनको भनाइ थियो ।

‘सरकारको नेतृत्व गर्नका लागि अब उज्यालो नेपाल एउटा चमत्कारी पार्टीको रुपमा आउने छ । अब उज्यालो नेपाल निरन्तररुपमा संगठन विस्तारमा लाग्नेछ । अब १५/१६ महिनापछि हुने प्रदेश र स्थानीय चुनावमा उज्यालो नेपाल एक नम्बरको पार्टी बन्ने छ,’ उनले भने ।