सिराहा- लहान नगरपालिकाका उपमेयर राम चलित्तर महतोले मेयर महेश चौधरीमाथि गम्भीर आरोप लगाएका छन् । उपमेयर महतोका अनुसार मेयर चौधरीले कानुनको धज्जी उडाउने काम गरिरहेको बताउँदै आचारसंहिता केवल कागजमै सीमित भएको टिप्पणी गरेका छन् ।

उनले दल र उम्मेदवारहरूले खुलेआम आचारसंहिता उल्लङ्घन गरिरहेको उल्लेख गर्दै निर्वाचनको समयमा मात्र नियम सम्झने र जितेपछि बिर्सिने प्रवृत्ति दोहोरिँदै आएको बताएका छन् ।

जब आफ्नै हस्ताक्षर गरेर बनाएको नियम नै पालना गर्न सकिँदैन भने भोलि कानुन बनाउने जिम्मेवारीमा पुगेपछि कस्तो उत्तरदायित्व देखिन्छ ? उनले प्रश्न उठाए ।

उपमेयर महतोले आचारसंहितालाई कमजोर बनाउने प्रवृत्तिले लोकतन्त्रलाई नै कमजोर बनाउने चेतावनी दिएका छन् । लोकतन्त्रको आधार नै विधि र नियमको पालना भएको उल्लेख गर्दै उनले सबै पक्षलाई कानुनको सम्मान गर्न आग्रह गरेका छन् ।