बुटवल। लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये २१ स्थानमा रास्वपाले जितको झन्डा फहराएको छ।
१२ जिल्ला रहेको लुम्बिनीका २६ निर्वाचन क्षेत्रमा पुराना विरासत बोकेका दलले यसपटकको निर्वाचनमा लज्जास्पद हार बेहोरे। यसअघि ११ सिट जितेको नेकपा एमाले एक सिटमा खुम्चिएको छ। ६ सिट जितेको नेपाली कांग्रेस दुई र तीन सिट जितेको नेकपा दुई सिटमा झरेको छ। तीन सिट जितेको राप्रपा मुख्य प्रतिस्पर्धामै आएन भने एक सिट जितेको जसपासहित मधेसवादी दलहरूले पनि प्रतिस्पर्धामा देखिएनन्।
एमालेमा पार्टी नेतृत्वमा रहेका र पूर्वमन्त्रीसमेत रहेका व्यक्तिहरू फराकिलो मतान्तरले पराजित भए। रूपन्देहीमा विगत लामो समयदेखि चुनाव जित्दै आएका पार्टी उपाध्यक्ष विष्णु पौडेल, लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमालेका महासचिव शंकर पोखरेलसहित पार्टीका सचिव गोकर्ण विष्ट, प्रदीप ज्ञवालीलगायत नेताहरू भारी मतान्तरले पराजित भए।
लामो समयदेखि चुनावी राजनीतिमा खेलाडी मानिने रूपन्देहीका सर्वेन्द्रनाथ शुक्ला, नवलपरासीका हृदयेश त्रिपाठी, कपिलवस्तुका बृजेश गुप्तासमेत यसपटक धेरै पछि परे। रूपन्देही, गुल्मी, दाङ, पाल्पा, अर्घाखाँची, प्युठान, कपिलवस्तु, बाँकेजस्ता एमालेका बलिया आधार इलाका मानिएका र ती पार्टीका प्रभावशाली नेताहरूले फराकिलो मतान्तरमा पराजित भए।
एमाले उपाध्यक्ष पौडेल, महासचिव पोखरेल, प्रभावशाली नेताहरू प्रदीप ज्ञवाली, खिमलाल भट्टराई, दधिराम न्यौपाने, ठाकुर गैरेको क्षेत्रमा रास्वपाले फराकिलो मतान्तरमा जितको झन्डा गाड्यो।
त्यसैगरी अर्का उपाध्यक्ष गोकर्ण विष्टले गुल्मी २, नारायण आचार्यले पाल्पा १, सूर्यबहादुर थापाले प्युठानमा थोरै मतले पराजित भएका छन्। विष्ट, आचार्य र थापाले हारेका यी क्षेत्र अहिले निर्वाचन जितेका दलहरूले समेत आफ्नो सुरक्षित क्षेत्रमा गणना गरेका थिएनन्। यसबाहेक रूपन्देही ४, बाँके ३ मा पनि उस्तै रोचक नतिजा आएको छ।
रास्वपाबाट अधिकांश क्षेत्रमा राजनीतिमा नवप्रवेशीलाई अगाडि सारिएको थियो। नवलपरासीको दुवै क्षेत्र, रूपन्देही ४, कपिलवस्तु २ र ३ का उम्मेदवारले मनोनयन दर्ताकै मुखमा पार्टी प्रवेश गरेर उम्मेदवारी पाएका थिए।
रूपन्देहीका पाँचवटै निर्वाचनमा रास्वपाका उम्मेदवार विजयी भए। क्षेत्र १ मा सो पार्टीका महामन्त्री सुनील लम्सालले ५४ हजार ८४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका हीरा खत्रीले ११ हजार ९८२ मत ल्याए। २ मा अधिवक्ता सुलभ खरेलले ५६ हजार ५५० ल्याउँदा एमालेका विष्णु पौडेलले १२ हजार ६६१ मत ल्याए।
क्षेत्र ३ मा लेखजंग थापाले ५८ हजार ८१४ मत ल्याउँदा कांग्रेसका सुशील गुरुङले आठ हजार ४३५, ४ मा कन्हैया बानियाले २८ हजार ६६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका प्रमोद यादवले २० हजार ६२ मत ल्याए। क्षेत्र ५ मा व्यवसायी तौफिफ खानले ३८ हजार ८०६ मत ल्याउँदा एमालेका खिमलाल भट्टराईले १३ हजार १०० मत ल्याएका छन्।
क्षेत्र ४ बाहेक अरूमा निकै फराकिलो मतान्तर छ। क्षेत्र ३ मा ५० हजार र २ मा ४२ हजार मतान्तरले उनीहरू विजयी भए।
गुल्मीका दुवै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भए। क्षेत्र नम्बर १ मा सागर ढकालले २९ हजार ६४२ मत ल्याउँदा एमालेका प्रदीप ज्ञवालीले १५ हजार १८१ मत ल्याए। २ मा गोविन्द पन्थीले १६ हजार ९६७ मत ल्याउँदा एमालेका गोकर्ण विष्टले १६ हजार ४०६ मत ल्याए।
दाङका तीनै निर्वाचन क्षेत्रमा रास्वपाले बाजी मारेको छ। १ मा पार्टीका प्रदेश अध्यक्ष रहेका देवराज पाठक, २ मा सह-महामन्त्री विपिन आचार्य र ३ मा कमल सुवेदीले फराकिलो मतान्तरमा जित दर्ता गरे। पाठकले कांग्रेसका सह-महामन्त्री योगेन्द्र चौधरीलाई २७ हजार ३२२ मतान्तरले पछि पार्दै ४२ हजार ६०२ मत प्राप्त गरेका छन्। आचार्यले ४३ हजार ५५० मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी एमाले महासचिव पोखरेलले १५ हजार २८२ मत गर्दा २८ हजार २७५ मतान्तर छ।
सुवेदीले क्षेत्र नम्बर ३ मा ४४ हजार २४८ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रभावशाली नेता दीपक गिरीलाई २७ हजार ७९५ को मतान्तरले पराजित गरे।
पाल्पा २ मा रास्वपाका माधवबहादुर थापाले फराकिलो मतान्तरले जितेका छन्। उनले २६ हजार ७३६ मत प्राप्त गर्दा कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९९२ मत पाएका छन्।
तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा १ बाट रास्वपाका मोहनलाल आचार्य र २ बाट विक्रम थापाले फराकिलो मतान्तरमा जिते। आचार्यले ३४ हजार १४८ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका बागी आशिष शर्माले १५ हजार ८६० मत ल्याए। क्षेत्र २ मा थापाले २७ हजार ६३५ मत ल्याउँदा कांग्रेसका सुरेन्द्र आचार्यले २१ हजार ५२७ मत ल्याए।
तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा १ मा रास्वपाका सुरेशकुमार चौधरी विजयी भए। चौधरीले ३२ हजार ७९२ मत पाउँदा कांग्रेसका नारायण गौडेलले १५ हजार ३०१ मत पाए। ३ मा रास्वपाका खगेन्द्र सुनार विजयी भए। उनले २९ हजार ५५१ मत पाउँदा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत पाए।
नवलपरासी पश्चिममा दुईवटा निर्वाचन क्षेत्रमा पनि रास्वपाले एकल जित दर्ता गरेको छ। क्षेत्र १ मा रास्वपाका विक्रम खनाल र २ मा पनि रास्वपाकै नरेन्द्रकुमार गुप्ता फराकिलो मतान्तरमा कांग्रेसका उम्मेदवारलाई हराउँदै जिते। खनाल-गुप्ता दुवै निर्वाचनकै मुखमा कांग्रेस छाडेर रास्वपामा गएका थिए।
बर्दिया १ मा रास्वपाका ठाकुरसिंह थारूले जितेका छन्। २ मा पनि रास्वपाकै श्रीधर पोखरेलले जिते। क्षेत्र १ मा थारूले ४९ हजार ६३१ मत पाउँदा एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत पाएर दोस्रो भए। निवर्तमान सांसद रहेका कांग्रेस नेता सञ्जय गौतम १२ हजार ७२२ मतका साथ तेस्रो भए। क्षेत्र २ मा पोखरेलले नेकपाका सुरेश पन्तलाई फराकिलो मतान्तरले पराजित गरे।
प्युठानमा रास्वपाका सुशान्त वैदिकले जिते। वैदिकले २७ हजार ४६९ मत पाउँदा कांग्रेसका गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत पाएका छन्। अर्घाखाँचीमा रास्वपाकै हरि भुसाल विजयी भएका छन्। उनले ३५ हजार २३ मत पाउँदा एमालेका पीताम्बर भुसालले २२ हजार ६४९ मत पाए।
पूर्वी रुकुमबाट नेकपाका पुष्पकमल दाहालले जित हासिल गरेका छन्। उनले १० हजार २४० मत ल्याउँदा प्रमुख प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले तीन हजार ४६२ मत पाए।
रोल्पामा नेकपाकै वर्षमान पुनले फराकिलो मतान्तरमा जिते। उनले २७ हजार ४६० मत पाउँदा कांग्रेसका सुदन वलीले १२ हजार आठ मतमै चित्त बुझाए। यसैगरी कपिलवस्तु ३ मा कांग्रेसका अभिषेकप्रताप साहले जितेका छन्। उनले २३ हजार ५३५ मत ल्याउँदा रास्वपाका प्रकाश रजौरियाले १८ हजार ८९० मत पाए। कांग्रेसबाट पाल्पा १ मा सन्दीप रानाले जिते।
उनले १८ हजार ३३६ मत पाउँदा एमालेका नारायणप्रसाद आचार्यले १६ हजार ८१९ मत पाएका थिए। बाँके २ मा एमालेका मोहम्मद इस्तियाक राई विजयी भए। राईले २४ हजार ६२८ मत पाउँदा रास्वपाका विवेक श्रेष्ठले १८ हजार ६८२ मत पाएका छन ।








