भैरहवा । रुपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएका ६ लाखभन्दा बढी मूल्यका सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अन्दाजी ६ लाख २९ हजार रुपैयाँबराबरका विभिन्न सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जनकबहादुर शाही जानकारी दिए ।
उनका अनुसार, बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहियामा पठाइएको छ । ओमसतिया गाउँपालिका–४ बसन्तपुरबाट अन्दाजी एक लाख २४ हजारबराबरको करिब २० क्विन्टल काँचो केरा बरामद गरिएको छ ।
त्यसैगरी, शुद्धोधन गाउँपालिका–३ पूर्व मैनहिया नयाँबस्तीबाट २७ हजारबराबरको १८० जोर लेडिज चप्पल नियन्त्रणमा लिइएको छ ।
मायादेवी गाउँपालिका–६ खल्बटबाट ७२ हजार ५०० बराबरका एल्बो सकेट १४१ थान, मोबिल ८.५ लिटर, कुरकुरे एक बोरा र सर्फ एक बोरा बरामद गरिएको प्रहरीले जनाएको छ ।
देवदह नगरपालिका–४ केरवानीबाट दुईवटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको करिब १३० केजी ब्रोइलर कुखुरा बरामद गरिएको छ । उक्त कुखुराको मूल्य अन्दाजी एक लाख २२ हजार रहेको छ ।
यस्तै, रोहिणी गाउँपालिका–३ लखनौटियाबाट २२ हजार १०० बराबरको तेल, बिस्कुट, स्प्राइट, सलाइ तथा अन्य किराना सामग्री बरामद गरिएको छ ।
कोटहीमाई गाउँपालिका–३ प्रसियाघाटबाट दुईवटा मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको बिस्कुट पाँच कार्टुन, चिनी एक बोरा र मैदा दुई बोरा बरामद गरिएको छ, जसको मूल्य अन्दाजी एक लाख ११ हजार ६०० रहेको छ ।
त्यसैगरी सिद्धार्थनगर नगरपालिका–३ बुद्धकोलोनीबाट रु एक लाख ५० हजारबराबरका बेबी सेट ३०० थान, बेबी भेस्ट ४०० थान तथा फलामको चेन पाँच थान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता कृष्णकुमार चन्दले बरामद गरिएका सामान सम्बन्धित निकायमा पठाइ आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।







