राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षफर्त १२५ सिट जित्दा समानुपातिकमा ५१ लाख ५४ हजार ९४८ मत ल्याएको छ । समानुपातिकमा रास्वपाले पाएको मत ४७. ८१ प्रतिशत हुन आउँछ । समानुपातिकतर्फ रास्वपाले करिब ५७ जना सांसद निर्वाचित हुने निश्चित छ ।
मतगणना अन्तिम हुँदै गर्दा राष्ट्रिय दल बन्नेमा नेपाली कांग्रेस (१७ लाख ५५ हजार ४७९), नेकपा एमाले (१४ लाख ५२ हजार ६३७), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) (८ लाख ९ हजार ५३०), श्रम संस्कृति पार्टी (३ लाख ८५ हजार ७०५), राप्रपा (३ लाख ३० हजार २२७) रहेका छन् ।
निर्वाचन आयोगमा राजनीतिक दलहरूले गत १३ पुसमा बन्द सूची बुझाइसकेका छन् । अब आयोगले सेन्ट लक विधिमा आधारित रहेर प्रतिशतमा क्लस्टर अनुसार सांसद संख्या निर्धारण गर्नेछ । दलहरूले पाएको सिटको आधारमा बन्द सूचीमा रहेका नाम अनुसारका उम्मेदवारहरूको नाम माग गर्छ ।
‘दलहरूले विभिन्न क्लस्टरअनुसार बुझाएका बन्द सूची छन् । त्यसमा यो यो क्लस्टरमा यति जना उम्मेदवारको नाम पठाउनुस् भन्छौँ । क्लस्टर अनुसारको सिट संख्या भन्छौँ,’ निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले शिलापत्रसँग भने, ‘महिला ३३ प्रतिशत पुर्याउन सुरुमा दलित क्लस्टर वा अन्य क्लस्टरबाट पनि महिला लिन पाउनुभयो । यो विषयमा आयोगको टिमले काम गरिरहेको छ ।’
दलहरूले बुझाएको उम्मेदवारको नामका रुजुपछि समानुपातिकतर्फका विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरणको काम हुन्छ । अहिले रास्वपाले प्रत्यक्षतर्फ ११२ जना पुरुष र १३ जना महिलाहरूले प्रत्यक्षतर्फ चुनाव जितेका छन् । अब रास्वपाले संसदमा कुल महिलाको संख्या ३३ प्रतिशत पुर्याउनुपर्छ । कुल १८३ को ३३ प्रतिशत ६०.३९ हुन्छ । त्यसैले रास्वपाबाट बढीमा ६० जना महिला सांसदमा छानिनुपर्ने हुन्छ । तीमध्ये पनि १३ जना त प्रत्यक्षतर्फबाट चुनिइसकेका छन् । रास्वपाले अब ४७ जना महिला सांसद समानुपातिकबाट छान्नुपर्नेछ भने १० जना पुरुष सांसद क्लस्टर अनुसार छान्नुपर्नेछ ।
कानुनी व्यवस्थाअनुसार दलित १३.८ प्रतिशत, आदिवासी जनजाति २८.७ प्रतिशत, खस आर्य ३१.२ प्रतिशत, मधेशी १५.३ प्रतिशत, थारू ६.६ प्रतिशत, मुस्लिम ४.४ को सिरियल नम्बरबाट नै निर्वाचन आयोगलाई पठाउनुपर्नेछ ।
यसरी रास्वपाले १० पुरुष सांसदमा खस आर्यको कोटा ३.१ जना अर्थात् ३ जना सांसद पाउनेछ । त्यस्तै, जनजातिले २८.७ अर्थात २ वा तीन जना सांसद पाउनेछ । मधेशी पुरुषले १५.३ प्रतिशत अर्थात् १ वा २ जना सांसद पाउनेछ । यस्तै, दलितले १.३५ प्रतिशत अर्थात् एक जना मात्रै सांसद पाउनेछ ।
थारू पुरुषतर्फ ६.६ प्रतिशत अर्थात एक जना निर्वाचित हुनेछन् । यस्तै, मुस्लिमतर्फ ४.४ अर्थात् एक जना वा निर्वाचित नै हुन नसक्ने सम्भावना रहन्छ ।
अब महिलातर्फ मत विभाजन गर्दा ४८ जनालाई क्लस्टरअनुसार विभाजन गर्दा खस आर्य १५, जनजाति १४, मधेशी ८, दलित ६, थारू ३ र मुस्लिम २ जनाको नाम आयोगमा पठाउनुर्पेछ ।
महिलाः ४७ जना
खस आर्यतर्फ : प्रतिभा रावल, रचना खतिवडा, लिमा अधिकारी, विदुषी राणा, समीक्षा बाँस्कोटा, श्रद्धा कुँवर क्षेत्री, टिका सङ्ग्रौला, क्रान्तिशिखा धिताल, आकृति अवस्थी, सृष्टि भट्टराई, मञ्जु भुसाल, प्रभा कार्की, शोभा खनाल, रत्ना कुमारी थापा, ज्ञानु पौडेल ।
जनजातितर्फ : बशुमाया तामाङ, गंगा छन्त्याल, सुन्निमा उदास, अनुष्का श्रेष्ठ, ओजश्वी शेरचन, सृजना श्रेष्ठ, रजनी श्रेष्ठ, कुसुम मर्हजन, भूमिका श्रेष्ठ, प्रमिला कुलुजु, सुजता तामाङ, कृपा मर्हजन, एलिजा गुरुङ र जीना विष्ट ।
मधेशीतर्फ : पुनम कुमारी अग्रवाल, निशा मेहता, ललिता कुमारी, अंकिता ठाकुर, सरिता महतो, कामीनी कुमारी, सुनिता कुमारी चौधरी, पुनम साह ।
दलिततर्फ : रिमा विश्वकर्मा, अमृता विक, सीता वादी, स्मृति सेञ्चुरी, सुस्मा स्वर्णाकार, तारा विश्वकर्मा ।थारूतर्फ : गिता चौधरी, उर्मिला चौधरी, करिश्मा कठरिया ।
मुस्लिम तर्फ : समिना मियाँ र अफ्सना बानु ।
पुरुषतर्फ १० जना
खस आर्यतर्फ : रमेश प्रसाईं, सुदीप ढकाल र प्रमोद न्यौपाने ।
जनजातितर्फ : डाराम लामा, खुश्बु सरकार श्रेष्ठ (प्रतिशत हिसाब मिलेमा मङ्मा ग्याबु शेर्पाको पनि सम्भावना रहन्छ ।)
मधेशीतर्फ : सुप्रभात यादव, खगेन्द्र कर्ण ।
दलिततर्फ प्रकाशचन्द्र परियार (अर्को एक जनामा प्रकाश विक पनि सम्भावना छ )थारू पुरुषः सुरेन्द्र चौधरी
‘पहिला महिलाको संख्या पुर्याएपछि खसआर्य पुरुष पुर्याउनुपर्ने र अरु क्लस्टर पुर्याउनुपर्ने हुँदा हाम्रो सम्भावना पछि मात्र रहेन भयो,’ बन्द सूचीमा नाम रहेका एक उम्मेदवारले भने ।







