बागलुङ। २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बागलुङमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ। कुल २३ उम्मेदवारमध्ये केवल सात जनाले मात्रै जमानत जोगाएका छन्।
बागलुङ क्षेत्र नम्बर १ मा ११ उम्मेदवार थिए, जसमा आठ उम्मेदवारको जमानत जफत भएको छ। रास्वपाका सुशील खड्का २० हजार ९२७ मतसहित विजयी भएका छन्। नेकपा–जनमोर्चा गठबन्धनका कृष्णप्रसाद अधिकारीले ४ हजार ५२१ मत पाउँदा जमानत जोगिन सकेनन्।
उक्त क्षेत्रमा ४७ हजार ६१ मत खसेको थियो। दोस्रो स्थानमा नेपाली कांग्रेसका भीमबहादुर श्रीस राना (११ हजार ९४४ मत) र तेस्रो स्थानमा नेकपा (एमाले) का हिराबहादुर केसी (८ हजार ६४० मत) रहेका छन्।
क्षेत्र नम्बर २ मा रास्वपाका सोम शर्माले १२ हजार ६४७ मतसहित विजयी भए। नेपाली कांग्रेसका टेकराज पौडेल ११ हजार ८६८ मत, नेकपा ज्ञाम नाथ गैरे १० हजार ७०९ मत र एमालेकी मञ्जु शर्मा चालिसे ७ हजार ८६४ मतसहित पछि परे। यस क्षेत्रका अन्य उम्मेदवारको जमानत जफत भएको छ।
जमानत जफत भएकामध्ये राप्रपा, श्रम संस्कृति पार्टी, प्रलोपा, नेशनल रिपब्लिक नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाली कम्युनिस्ट पार्टी (माओवादी) र नेपाल मानवतावादी पार्टीका उम्मेदवार रहेका छन्।
यो निर्वाचन क्षेत्रमा कुल ९५ हजार ३३५ मतदाता रहेका थिए। ४७ हजार २०७ मत खसेकोमा ४४ हजार ६२६ मत मात्र सदर भएको थियो।








