काठमाडौँ । सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा जोडिएका अभियुक्तहरूको बयान सकिएको प्रहरीले जनाएको छ। फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत फेला परेकी इनिशाको घटनालाई लिएर प्रहरीले विभिन्न कोणबाट सूक्ष्म र वैज्ञानिक अनुसन्धान गरिरहेको छ। पक्राउ परेका मुख्य अभियुक्त भनिएका १६ वर्षीय किशोरले प्रहरीसमक्ष आफूहरू दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेको र शारीरिक सम्बन्धपछि अत्यधिक रक्तस्राव भई इनिशा बेहोस भएपछि साथीहरूको सहयोग मागेको बयान दिएका छन्। सिसिटिभी फुटेजमा पनि बिहान ६ बजेतिर इनिशा र ती किशोर मात्रै घटनास्थलतर्फ गएको देखिएको छ।
अभियुक्तहरूले दिएको बयानको सत्यता जाँच्न नेपालगन्जबाट पोलिग्राफ टोली बोलाइएको छ जसले उनीहरूले बोलेको कुरा साँचो हो कि झूटो भन्ने कुराको प्राविधिक परीक्षण गर्नेछ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ तर फरेन्सिक रिपोर्ट आउन बाँकी रहेकाले तत्कालै अन्तिम निष्कर्षमा पुग्न सकिएको छैन। इनिशाको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखाएको छ। यद्यपि, पीडित पक्षले भने यो सामूहिक बलात्कारपछिको योजनाबद्ध हत्या भएको दाबी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरिरहेका छन्।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै जिल्ला प्रहरीको टोलीसँगै अहिले केन्द्रबाट खटिएको सीआईबीको टोलीले पनि वीरेन्द्रनगरमै बसेर थप प्रमाण सङ्कलन र अनुसन्धान गरिरहेको छ। प्रहरीले हालसम्म प्रेमी भनिएका किशोरसहित चार जनालाई पक्राउ गरी जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेको छ। गुर्भाकोट घर भई वीरेन्द्रनगरमा बसेर कक्षा ११ मा अध्ययनरत इनिशाको रहस्यमय मृत्युले स्थानीय स्तरमा न्यायका लागि ठूलो दबाब सिर्जना गरेको छ।







