सुलीकोट, चैत ९ गते । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलन क्रममा निधन भएका गोरखाका तीन शहिद परिवारलाई राहत रकम हस्तान्त्रण गरिएको छ। विदेशमा रोजगारीमा रहेका नेपालीहरूले संकलन गरेर पठाएको रकम शहिद परिवारको घरघरमै गएर हस्तान्त्रण गरिएको हो।

जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा का अनुसार, जेनजी आन्दोलनमा शहिद भएका गोरखाका पालुङटार नगरपालिका–३ का अनिष पराजुली, बारपाक सुलीकोट गाउँपालिका–५ का बिमल बाबु भट्ट, र गण्डकी गाउँपालिका–४ का अर्जुन भट्टका परिवारलाई राहत रकम हस्तान्त्रण गरिएको हो।

तीनै शहिद परिवारलाई प्रति परिवार ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको छ। उक्त रकम क्रमशः बिमल बाबु भट्टका बुबा रामकृष्ण भट्ट, अनिष पराजुलीकी पत्नी मञ्जु पौडेल, र अर्जुन भट्टका बुबा चित्रबहादुर भट्ट लाई हस्तान्त्रण गरिएको हो।

राहत रकम दक्षिण कोरियामा सक्रिय एमआरआर समूह को संयोजनमा संकलन गरिएको थियो र गोरखाका पत्रकार तथा प्रेस काउन्सिल नेपालका सदस्य भिमलाल श्रेष्ठ मार्फत हस्तान्त्रण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सहानुभूति र एकताको उदाहरण स्वरूप यो सहयोगले कठिन अवस्थामा परेका परिवारलाई केही हदसम्म राहत मिल्ने विश्वास व्यक्त गरिएको छ। केही समयअघि गोरखाका सबै मृतक परिवारलाई १५ लाख रुपियाँ राहत रकम उपलब्ध गराइएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी शर्मा अनुसार, यसमा आर्थिक सहायता १० लाख र काजक्रिया तथा यातायात खर्च ५ लाख रुपियाँ समावेश गरिएको थियो।