हेमन्त धामीको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
सुदूरपश्चिमले सोमबार वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा कर्णाली प्रदेशविरुद्ध ४ विकेटको जित निकाल्यो । कर्णालीले प्रस्तुत गरेको १२० रनको लक्ष्य सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
सुदूरपश्चिमका लागि किरण ठगुन्नाले २६, खडक बोहराले २३, मिलन बोहराले अविजित १८ र कप्तान शेर मल्लले अविजित १० रन बनाए ।
कर्णालीका लागि अनुज चनरा र दिवान पुनले २–२ तथा प्रकाश जैशी र दीपेन्द्र रावतले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ३२ ओभरमा सबै विकेट गुमाउँदै ११९ रनको योगफल तयार पारेको थियो
कर्णालीका लागि विपिन रावलले ३३ सुनिल धमलाले २३ र अरविन्द घर्तीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि हेमन्त धामीले ७ ओभरमा १ मेडनसहित मात्र १६ रन खर्चिएर ६ विकेट लिए । यसैगरी, नारायण जोशी अशोक धामी, मिलन बोहरा र शेर मल्ले १–१ विकेट लिए ।
जितसँगै सुदूरपश्चिमले २ अंक जोडेको छ । पराजित कर्णालीको २ खेलबाट १ अंक छ । वर्षाका कारण पहिलो खेल हुन नसक्दा कर्णालीले लुम्बिनीसँग अंक बाँडेको थियो ।








