काठमाडौं । भदौ २३ गते काठमाडौंमा भएको हिंसात्मक प्रदर्शन र संसद् भवन प्रवेशको प्रयासका क्रममा भएको बल प्रयोगबारे तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले दिएकाे बयान सार्वजनिक भएकाे छ ।
बयानमा उनले आफूले परिस्थितिलाई नियन्त्रणमा लिन ‘ड्युअल अब्जेक्टिभ डक्ट्रिन’ अपनाएको र सिधै गोली चलाउने आदेश नदिएको दाबी गरेका हुन्।
भदौ २३ गते बिहान १०:१५ बजेसम्म स्थिति सामान्य रहे पनि माइतीघरबाट सुरु भएको प्रदर्शन बिजुलीबजार पुगेपछि नियन्त्रणबाहिर जान थालेको बयानमा उल्लेख छ। प्रदर्शनकारीहरू सङ्घीय संसद् भवनतर्फ अघि बढेपछि गृहसचिव र गृहमन्त्रीसँगको समन्वयमा दिउँसो १२:३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको थियो।
“संसद् भवन वरिपरि चारैतिरबाट प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गर्दै गेटबाट भित्र प्रवेश गरेपछि नागरिकको जीउ-धन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि कर्फ्यु अन्तिम विकल्प बन्यो,” तत्कालीन सिडिओले भनेका छन्।
बयानका अनुसार, सुरक्षाकर्मीलाई संयमता अपनाउन र न्यूनतम बल प्रयोग गर्न निरन्तर निर्देशन दिइएको थियो। उनले भनेका छन्, “मैले घुँडाभन्दा तल लक्षित गरी रबरको गोली चलाउने मौखिक आदेश दिएको थिएँ, तर अन्तिम बल अर्थात् सिधै गोली चलाउने आदेश दिएको थिइनँ।”
तथापि, सोही समयमा प्रहरीको रेडियो सेटबाट तत्कालीन प्रहरी महानिरीक्षक र उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुखले ‘आवश्यकता अनुसार फायर खोल्नु’ भन्ने आदेश दिएको आफूले सुनेको उनले खुलाएका छन्। संसद् भवनभित्र प्रवेश गर्न खोज्ने भीडलाई रोक्न परिसरभित्र मात्र गोली चलेको र बाहिर अन्यत्र नचलेको दाबी समेत गरिएको छ।
तत्कालीन सिडिओले सो समयमा सुरक्षाकर्मीको थकान, उपकरणको अभाव र भीडको बहुकेन्द्रित आक्रमणका कारण सुरक्षा दिन कठिन भएको बताएका छन्। प्रधानमन्त्रीको राजीनामापछि सिर्जना भएको राजनीतिक शून्यताले स्थिति थप भयावह बनेको उनको विश्लेषण छ।
बयानमा उल्लेख भएअनुसार, भदौ २४ गते नेपाली सेनाले समयमै कारागारको सुरक्षा जिम्मा नलुिँदा डिल्लीबजार कारागारबाट २० जना र केन्द्रीय कारागार सुन्धाराबाट ३५०० भन्दा बढी कैदीहरू भाग्ने अवस्था सिर्जना भएको थियो। घटनाका क्रममा आफ्नो मृत्यु भएको अफवाह फैलाइएको र ज्यान मार्ने धम्की आएपछि आफू केही समय नेपाली सेनाको नरसिंहदल गणमा गएर बसेको समेत उनले खुलाएका छन्।








