काठमाडौं– फिफा विश्वकपमा रातो कार्ड पाएपछि अर्को खेल गुमाउनुपर्ने स्थापित नियमबीच अमेरिकाका फरवार्ड फोलारिन बालोगुनको निलम्बन स्थगित गरिएपछि विवाद चर्किएको छ ।

बोस्निया एन्ड हर्जेगोभिनाविरुद्ध रातो कार्ड पाएका बालोगुन अब बेल्जियमविरुद्धको अन्तिम–१६ को खेल खेल्न पाउने भएका छन् ।

तीन गोलसहित अमेरिकाका सर्वाधिक गोलकर्ता रहेका उनको निलम्बन हटाउने निर्णयबारे फिफाले स्पष्ट कारण दिएको छैन ।

फिफाले अनुशासन संहिताको धारा २७ अनुसार निर्णय गरिएको जनाएको भए पनि विश्वकप इतिहासमा यस्तो व्यवस्था पहिलोपटक प्रयोग भएको बताइएको छ ।

यसअघि १९६२ मा ब्राजिलका गारिन्चा मात्र निलम्बनबाट जोगिएका थिए ।

यस निर्णयपछि अमेरिकालाई विशेष सुविधा दिएको आरोप लागेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग निलम्बन पुनरावलोकन गर्न आग्रह गरेको भन्ने चर्चा भए पनि यसको स्वतन्त्र पुष्टि भएको छैन ।

बेल्जियम फुटबल संघले भने फिफाको निर्णय नियमविपरीत भएको भन्दै आपत्ति जनाएको छ ।