नेपालको गौरव र जलस्रोतको प्राण मानिने स्वच्छ हिमालहरू यतिखेर विश्वव्यापी तापमान वृद्धिको मारमा परेका छन्। हिमालको हिउँ पग्लिने र भत्किने यो शृंखला वातावरणीय बहसको विषय मात्र रहेन। अब यसले नेपालको राष्ट्रिय सुरक्षा, अर्थव्यवस्था र जनजीवनमाथि अकल्पनीय आघात पुर्याउन थालेको छ। यसको त्रासदीपूर्ण उदाहरण भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रबाट सिर्जित भोटेकोसी–त्रिशूलीनदीमा आएको विनाशकारी बाढी हो। यो प्रलयकारी बाढीले सिङ्गो राष्ट्रलाई स्तब्ध र तरङ्गित बनाएको छ।
यो अकल्पनीय विपत्तिमा परेर १३५७ जनाको मृत्यु भएको छ भने लगभग पाँच हजार ३२६ मानिस बेपत्ता भएका छन्। बाढीको तीव्र वेगले आठ हजार ६९२ भन्दा बढी घरधुरी पूर्ण रूपमा बगाएको छ भने कुल ३९ हजार ११४ जना प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।




